इटहरी, ७ पुस । भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले विश्वमा नेपाल पवित्र धार्मिक तीर्थस्थल भूमिका नामले पनि परिचित देश हो भन्नुभएको छ ।
मन्त्री सुब्बाले आज मोरङ जिल्लाको सुन्दरदुलारी नगरपालिका–६ स्थित बूढीगङ्गा जमुना नदी पूर्वतटमा निर्माण गरिने श्री राधा सर्वेश्वर मन्दिरको आज शिलान्यास गर्ने क्रममा सो कुरा उल्लेख गर्नुभएको हो ।
उहाँले सोही अवसरमा मन्दिर निर्माणका लागि रु ५० हजार नगद उपलब्ध गराउने प्रतिबद्धतासमेत गर्नुभयो ।
इटहरी उपमहानगरपालिकादेखि पूर्व बूढीगङ्गा जमुना नदीनजिकै निर्माण हुन लागेको यो पवित्र तीर्थस्थलले यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा नेपालका प्रथम जगतगुरु तथा बराह क्षेत्रका पीठाधीश बालसन्त मोहनशरण देवाचार्यले बूढीगङ्गा जमुना तीर्थस्थललाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न पहिलेदेखि नै आफूले प्रयास गरिरहेको बताउनुभएको छ ।
पीठाधीय बालसन्त मोहनशरण देवाचार्यले करिब रु डेढ करोडको लागतमा निर्माण गर्न लागिएका श्री राधा सर्वेश्वर मन्दिर पैगोडा शैलीको हुने र मन्दिरको गजुर चाँही पशुपतिनाथ मन्दिरको शैली र आकारको हुने पनि पीठाधीश देवाचार्यले बताउनुभयो ।
श्री राधा सर्वेश्वर मन्दिर तथा सभा हलसमेत रहने सो मन्दिर निर्माणार्थ सहयोग सङ्कलन गर्ने उद्देश्यले सोही स्थानमा आयोजित द्वादश दिवसीय महापुराणबाट हिजोसम्ममा रु सात लाख १६ हजार नगद तथा सिमेन्ट, रड, इँटालगायतका वस्तु पनि आम्दानी भइरहेको आयोजक समितिका कोषाध्यक्ष लोकेन्द्र काफ्लेले जानकारी दिनुभयो ।
मन्दिर तथा धार्मिक तीर्थस्थल निर्माणका लागि सुन्दरदुलारी नगरपालिकामा बसोबास गर्दै आउनुभएका समाजसेवी रामबहादुर राउत, टेकबहादुर न्यौपाने भेषबहादुर न्यौपाने केदारनाथ काफ्ले तोरणबहादुर न्यौपाने राधा भण्डारीले साढे सत्र कट्ठा जमिन निःशुल्क दान गर्नुभएको बताइएको छ । रासस














प्रतिक्रिया