दमक, २ पुस । प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोष र पत्रकारिता पुरस्कार कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीले १ लाख नगद प्रदान गर्नुभएको छ ।
झापा क्षेत्र नं ७ बाट निर्बाचित प्रधानमन्त्री ओलीले कोषका लागि प्रदान गर्नुभएको सो रकम आज दमकमा पत्रकार सम्मेलनको आयोजना गर्दै सांसद प्रतिनिधी होम बहादुर थापाले प्रेस चौतारी झापाका अध्यक्ष गोपाल काफलेलाई हस्तान्तरण गर्नु भएको हो । रकम हस्तान्तरण गर्दै सांसद प्रतिनिधी थापाले प्रधानमन्त्री ओलीले आगामी दिनमा पनि कोषका लागि सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो ।
नेकपा एमाले झापा क्षेत्र नं ७ का इन्चार्ज समेत रहनुभएका थापाले सो क्रममा सांसद बिकास कोषबाट बिनियोजित रकमकाबाट काम भइरहेका बिकासे योजनाहरुको समेत जानकारी दिनु भएको थियो । सांसद बिकास कोषबाट प्राप्त हुने रकम मध्ये झापा क्ष्ँेत्र नं ७ मा रहेका प्रत्येक गाबिसलाई ३ लाख ५० हजार र नगरपालिकाको बिकासका लागि ४ लाख ५० हजार रकम छुट्याएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रेस चौतारी झापाका अध्यक्ष गोपाल काफ्लेले पत्रकार उपचार सहयोग कोषका बारेमा जानकारी दिदै कोषमा जुनसुकै संगठनमा आबद्ध भएका पत्रकारहरुले पनि सहभागिता जनाउन सक्ने बताउनुभयो ।
कार्यक्रममा प्रेस चौतारी झापाका सचिब मनकुमार गदालले पत्रकार उपचार कोषका लागि झापा क्षेत्र नं ६ बाट निर्बाचित सांसद दिपक कार्कीले पनि यस अघि नै ५० हजार रुपैया दिने प्रतिबद्धता ब्यक्त गरीसक्नुभएको जानकारी दिनुभयो । कार्यक्रममा एमाले जिल्ला सदस्य केन्द्र प्रसाईले पनि पत्रकार उपचार कोषलाई २५ हजार रुपैया प्रदान गर्ने घोषण गर्नु भयो । एमाले जिल्ला सदस्यहरु गणेश बस्नेत र बेनु शिवाकोटीले पनि क्षेत्रको बिकास निर्माणको गतिविधिहरुबारेमा जानकारी दिनुभएको थियो ।















प्रतिक्रिया