१२ कार्तिक २०८३, बिहिबार

प्रेस युनियन पत्रकारको संस्था हो की ‘डिस होम’को प्रवक्ता ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Press Union Logoकाठमाडौं, १ पुस । नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनले ललितपुरको भैँसेपाटीस्थित ‘डिस होम’को अर्थ स्टेशनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आक्रमण गरी क्षति पुगाएकोमा चिन्ता र दुःख व्यक्त गरेको छ ।

कसैले बिरोध नगर्दै युनियनका महासचिव अजयबाबु सिवाकोटीले हताहतार गरेर सो घटनाप्रति आफ्नो संगठनको आपत्ति रहेको भन्दै निन्दा र भर्त्सना गरेका छन् ।

‘डिस होम’मा एक जना पनि पत्रकारले काम गर्दैनन् । सञ्चार क्षेत्रसँग जोडिएको भनेर परिभाषा गर्ने हो भने ‘डिस होम’ मात्रै नभइ केबुल, फिल्म हल सञ्चालकदेखि विभिन्न कार्यालयहरूमा पनि आजकाल मिडिया गृह राखिएका हुन्छन् । त्यसलाई पनि सञ्चार गृह भन्ने ?

उनले भनेका छन्, ‘नेपाल प्रेस युनियन सूचना तथा सञ्चार क्षेत्रसँग जोडिएका कुनै पनि संस्थामाथि कुनै पनि बहानामा हुने कुनै पनि आक्रमणको विरोध गर्दछ । राजनीतिक प्रकृतिको विषयमा गैरराजनीतिक संस्थाहरूमा गरिएको यस किसिमका आक्रमणको निन्दा गर्छ । साथै उचित व्यवसायिक वातावरण बनाउँदै नागरिकको सुसूचित हुने अधिकारको सम्मान गर्न सम्वन्धित सबै पक्षसँग युनियन जोडदार माग गर्दछ ।’

प्रेस युनियनले डिस होममा बम आक्रमण भएको आफ्नो बिज्ञप्तिमा दाबी गरेको छ । जब की डिस होममा बम नभइ पेट्रोल बम प्रहार गरिएको माओवादीले जनाएको छ । प्रेस युनियन क्रान्तिकारी बनेर डिस होमको प्रवक्ता बनेर हुँदै नभएको बम प्रहार गराएर किन विज्ञप्ति जारी गरेको हो बुझी नसक्नु छ ।

‘बम आक्रमण गरिएपछिको २ घण्टा, ५ लाख ग्राहकले डीसहोममा केही पनि हेर्न नपाएको अवस्था छ भने त्यसयता गरिएको आपतकालीन व्यवस्थापछि ११६ च्यानलमध्ये ६० वटा मात्र डिसहोममार्फत पुनः पठाउन सकिएको छ’, महासचिव सिवाकोटीको विज्ञप्तिमा उल्लेख छ ।
राजधानीका ‘क’ वर्गका सञ्चारमाध्यमहरूले पत्रकारहरूलाई तलव नदिइ काम गराइरहेका छन् । तराई मधेस आन्दोलनमा पत्रकारहरूले कठिनाइका साथ रिपोर्टिङ गरिरहेका छन् । कति पत्रकारलाई भौतिक आक्रमण भएको छ ।

विडम्बना प्रेस युनियनले त्यसतर्फ कहिल्यै ध्यान दिएन । बरु करोडौँ रुपियाँमा लगानी गरेर पैसा कमाउन निजी स्तरमा खोलिएको ‘डिस होम’को प्रवक्ता बन्न पुगेको छ । यो कार्यको स्वयं प्रेस युनियनका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आश्चर्यजनक रुपमा लिएका छन् ।

‘डिस होम’मा एक जनापनि पत्रकारले काम गर्दैनन् । पत्रकारहरूको संस्थाले यस्ता व्यापारिक घरानाले चलाएको संस्थाको बचाउ गर्नु आपत्तिजनक रहेको पत्रकारहरूको भनाइ छ । विभिन्न टेलिभिजनहरू देखाइ उपभोक्तासँग पैसा असुलेर चल्ने संस्था हो यो । प्रेस युनियनले यस्ता संस्थाको किन पहिचान गर्न सकेन खोजीको विषय बनेको छ ।

‘डिस होम’को प्रवक्ता बनेर विज्ञप्ति जारी गरिएको विषयमा प्रेस युनियनका आगामी बैठकमा कुरा उठ्ने भएको स्रोतले जनाएको छ ।

…………………………

मितिः २०७२ पुष १

प्रेस वक्तव्य

सूचना प्रविधी क्षेत्रसँग जोडिएको संस्था डिस होमको ललितपुरको भैसेपाटीमा रहेको केन्द्रीय कार्यालयको टावरमा बुधवार विहान गरिएको आक्रमणप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। डिस होमको टावरमा गरिएको बम आक्रमणबाट साँढे २ करोडको क्षती हुनुका साथै साँढे ५ लाख ग्राहकले पाउँदै आएको सेवा अवरुद्ध भएको डिस होमका डिजीएम कल्याण अधिकारीले जानकारी गराउनुभएको छ। भारतीय हिन्दी च्यानलहरु प्रसारण गराएकाले आक्रमण गरेको नेकपा माओवादी नेत्र विक्रम चन्द विप्लव समुहका नेता खड्ग बहादुर विश्वकर्माले जिम्मेवारी लिनुभएको छ।

कुनै राजनीतिक दलको तर्फबाट केहि च्यानलहरु प्रसारण नगर्न चेतावनी दिने र प्रसारण रोकेको भन्दै सरकारले प्रसारण रोक्ने संस्थाहरुलाई कार्वाहीको धम्की दिएको पृष्ठभुमिमा बुधवार डिस होमको केन्द्रीय कार्यालयमा बम प्रहार गरिएको देखिएको छ। राजनीतिक समस्या राजनीतिक ढंगले नै समाधान हुनुपर्नेमा त्यसतर्फ नलागि व्यवसायी र त्यसमा काम गर्ने कर्मचारीलाई सरकार र राजनीतिक दल विशेषले तारो बनाउने कार्यको नेपाल प्रेस युनियन सदैव विपक्षमा छ।

एकातिर सूचना सञ्चार र प्रविधी मन्त्रालय र यसको नेतृत्व गरिरहनुभएका मन्त्री शेरधन राईले सबै प्रसारकहरुलाई प्रसारण खुल्ला गर्न निर्देशन दिदै अन्यथा कार्वाहीको चेतावनी दिने तर सुरक्षा नदिने अर्कातर्फ सरकारी आदेश मान्दा आक्रमण र बम प्रहार हुनुले व्यवसायिक वातावरण मात्र खल्वलिएको छैन नागरिकको सुसुचित हुने अधिकार पनि खोसिएको छ। बम आक्रमण गरिएपछिको २ घण्टा ५ लाख ग्राहकले डीसहोममा केहि पनि हेर्न नपाएको अवस्था छ भने त्यसयता गरिएको आपतकालिन व्यवस्थापछि ११६ च्यानल मध्ये ६० वटा मात्र डीसहोम मार्फत पुन पठाउन सकिएको कम्पनीको भनाइ रहेको छ।

नेपाल प्रेस युनियन सूचना तथा सञ्चार क्षेत्रसँग जोडिएका कुनै पनि संस्थामाथि कुनै पनि बहानामा हुने कुनै पनि आक्रमणको विरोध गर्दछ। राजनीतिक प्रकृतिको विषयमा गैरराजनीतिक संस्थाहरुमा गरिएको यस किसिमका आक्रमणको निन्दा गर्छ। साथै उचित व्यवसायिक वातावरण बनाउँदै नागरिकको सुसुचित हुने अधिकारको सम्मान गर्न सम्वन्धित सबै पक्षसँग युनियन जोडदार माग गर्दछ।

जय नेपाल।

अजय बाबु शिवाकोटी

महासचिव

नेपाल प्रेस युनियन