१२ कार्तिक २०८३, बिहिबार

भारतको नाकाबन्दी तत्काल अन्त्य हुनुपर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँ, २९ मङ्सिर । नेपाल पत्रकार तथा लेखक समाजले भारतले नेपालमाथि गरेको नाकाबन्दी तत्काल अन्त्य गर्न भारतसँग आग्रह गरेको छ ।

समाजले आज यहाँ ‘नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप’ विषयक अन्तक्र्रियाको आयोजना गरी भूपरिवेष्टित राष्ट्र नेपालको पारवहन अधिकारलाई भारतले कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै नाकाबन्दी अन्त्य गर्नुपर्ने बताएको हो ।

जनमोर्चा नेपालका महासचिव साध्यबहादुर भण्डारीले भारतले अन्तर्राष्ट्रिय कानुन मिचेर नेपालमाथि नाकाबन्दी गरेको भन्दै नेपालले बढीभन्दा बढी चिनियाँ नाका खोलेर नाकाबन्दीको सामना गर्नुपर्नेमा जोड दिनुभयो ।

मानवअधिकारकर्मी केबी रोकायाले भारतले नेपालमाथि नाकाबन्दी लगाउनुमा नेपालभित्रको समस्या कारक रहेको भन्दै यसलाई बौद्धिक तरिकाले समाधान गर्नुपर्ने बताउनुभयो ।

एकीकृत माओवादीका नेता धमेन्द्र बाँस्तोलाले भारतले नेपालप्रति लिएको नीति गलत भएको बताउँदै नेपालले आफ्नो समस्याको पहिचान गरी त्यसलाई सम्बोधन गर्नेतर्फ लाग्नु उचित हुने सुझाव दिनुभयो ।

परराष्ट्रविद् डा सोम पुडासैनीले नेपालले भोगिरहेको समस्यालाई समाधान गर्न चिनियाँ नाकालाई खोल्न पहल गर्नुपर्नेतर्फ जोड दिनुभयो ।

थारु मुक्ति सङ्ग्रामका अध्यक्ष डा ललन चौधरीले मधेस आन्दोलनले त्यहाँका थारुलाई अल्पमतमा पार्ने काम गरेको भन्दै सबै थारु ‘एक मधेस एक प्रदेश’ को पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा समाजका अध्यक्ष गोरखबहादुर बिसी, पूर्वराजदूत डा विष्णुहरि नेपाल, धार्मिक गुरु दामोदर गौतम, डा भिक्षु कीर्तिलगायतले नाकाबन्दीको समस्यालाई भारतसँग मित्रवत् रुपमा नै हल गर्नुपर्नेमा जोड दिनुभयो । रासस