महेन्द्रनगर (धनुषा), २९ मङ्सिर । आन्दोलनरत मधेसी मोर्चाको शीर्ष नेतृत्वले मधेसका जिल्लामा बिहानी सत्रमा मात्रै कक्षा सञ्चालन गर्नेगरी विद्यालय खोल्न दिने निर्णय गरेपछि धनुषाका विद्यालयहरू दिउँसो समेत खुल्न थालेका छन् ।
सदरमुकाम जनकपुरको सहरी क्षेत्रमा भने बिहानीसत्रमा विद्यालय मात्रै सञ्चालन भएपनि सदरमुकाम बाहिरका प्रायजसो ठाउँका स्कूलमा दिउँसो अर्थात १० बजेदेखि विद्यार्थी अनौपचारिक पोसाकमा नै उपस्थित भई सञ्चालन हुन थालेका छन् ।
चौतर्फी आलोचना र दबाबपछि मोर्चाले ‘बिहानी सत्रका लागि मात्रै स्कुल सञ्चालन हुन दिने’ निर्णय आन्दोलनको ९८ औँं दिन यही मङ्सिर ३ गते गरेको थियो । त्यसको तेस्रो दिनदेखि जनकपुरलगायत मधेसका सबै विद्यालय बिहान सञ्चालनमा आएका थिए । तर जाडो र शीतलहरका कारण बिहान विद्यार्थीलाई आउजाउ गर्न निकै कठिनाई व्यहोर्नु परेको र विद्यार्थी बिरामी हुन थालेपछि बिहानी सत्र उपयुक्त नभएको भन्दै दिउँसो खुल्न थालेका हुन् ।
बिहान अत्यधिक मात्रामा हुस्सु र शीतलहर बढेपछि विद्यार्थीलाई विद्यालय जान आउन समस्या बढ्नुका साथै कक्षाकोठामा अँध्यारो भएर केही देखिने अवस्था नभएपछि आइतबारदेखि नै विद्यालय दिउँसो नै सञ्चालन गर्न थालिएको बताइएको छ ।
आन्दोलनका कारण पछिल्लो सात महिनामा झन्डै पाँच महिना पठनपाठन प्रभावित भएको छ । त्यसैगरी, जनकपुरबाट छोटोदुरीमा चल्ने ट्याम्पो, सिटी सफारी, इलेक्ट्रोनिक रिक्सासमेत सञ्चालन हुन थालेका छन् ।
चार महिनाभन्दा बढीको मधेस बन्द र ८३ दिनको नाकाबन्दीले अस्तव्यस्त दैनिकी केही सहज होस् भनेर आफूहरू केही लचक भएको मोर्चा आबद्ध नेता/कार्यकर्ताहरुले बताएका छन् । रासस














प्रतिक्रिया