
– अर्जुन भुसाल
अर्घाखाँची, मंसिर २८ । सन्धिखर्क नगरपालिका वडा नं. १० किमडाँडाका विष्णुप्रसाद भुसाल यतिबेला व्रेन ट्युमर रोगका कारण थलिएका छन् ।
रोगले थलिएपछि उपचारको लागि सहयोग गर्न सबैसँग याचाना गरेका छन् । उनी निको भएर परिवारको सहार बन्न चाहन्छन् । उपचार पाए आफू बाच्न पाउनेमा उनी विश्वस्त देखिन्छन् । जटिल प्रकारको रोग लागेपछि उनको घरमा अध्यारो छाएको छ । श्रीमति, एक छोरा, चार छोरीको उन्को परिवार छ । सात वर्षिया छोरा गौरभ सुस्तमनस्थितका छन् । श्रीमतीलाई पाठेघरमा समस्या छ । दुइ छोरीको विवाह भएको छ भने दुइ छोरी सानै छन् । अपाङ्ग छोरो, रोगी श्रीमति र छोरीहरुको सहारा बनेका उनी अचानक थलिएपछि परिवार बेसहारा बनेको छ ।
ठूलै जिम्मेवारी निर्वाह गर्दै आएका अभिभावक नै रोगबाट थलिएपछि परिवारमा निराशा छाएको छ । ‘सबैले सहयोग गरे बाच्ने थिएँ,’ बरबर्ती आशु झार्दै उनले भने, ‘म मरे परिवारको बिजोग हुने भयो ।’ उनलाई परिवारको निकै चिन्ता छ । कमजोर आर्थिक स्थितिका कारण उनले उपचार पाउन सकेका छैनन् । ‘मलाई मर्न मन छैन, उपचार पाए बाच्छु जस्तो लाग्छ’ उनले भने । उनका कुरा सुन्दा उनको जीवन रक्षार्थ सबैले आफ्नो ठाउँबाट केहि न केहि गर्नैपर्छ । बाचेर परिवारको दुःखमा साथ दिने उनको तीव्र अभिलासा छ ।
उनले दैनिक परिश्रम गरेर परिवार पाल्दै आएका थिए । घरबाट दैनिक ७ किलोमिटरको पैदल यात्रा गरेर सदरमुकाम सन्धिखर्कमा लगेर दुध/तरकारी बिक्री गर्ने गर्थे । उनको निरन्तरको परिश्रमले घरमा चुलो बलेको थियो । दैनिक परिश्रम गरेर घरधन्धा चलाउदै आएका उनले एक्कासी जटिल रोगको सामना गर्नुपर्ला भनेर कल्पना सम्म पनि गरेका थिएनन् । कृषिबाट मासिक आठ/दश हजार आम्दानी भएपनि सबै रकम घर खर्चमै प्रयोग हुन्थ्यो । उनीसँग वैंक व्यालेन्स पनि छैन् । सम्पत्ति पनि निकै कम छ । सबै सम्पत्ति बिक्री गर्दा पनि उनको उपचारको लागि चाहिने रकम जुट्न सक्दैन । उनी विस्तारामा परेको पनि करिव दुई महिना भइसक्यो ।
श्रीमान रोगले ग्रसित बने देखि नै श्रीमति टामकलाका आखाँ ओभाएका छैनन् । श्रीमानको अवस्था देख्दा जति मन सम्हाल्न खोजे पनि नसकेको उनले बताइन । ‘मलाई छिट्टै उपचार गर्न लैजाओ भन्नुहुन्छ’ उनले भनिन, ‘पैसा नहुँदा उपचार गर्न सकिएन ।’ ‘दैवले पनि दुःखीलाई नै सताउदो रैछ’ उनले थपिन, ‘यस्तो पीडा कसैलाई पनि नपरोस ।’ विष्णुप्रसादको परिवारको अवस्था हिजो उनी स्वस्थ हुँदा पनि कमजोर नै हो । आज उनी व्रेन ट्युमर जस्तो जटिल प्रकारको रोगबाट ग्रसित छन् । उपचार गराउन नपाउदा उनी बाच्न पाउँछन्÷पाउँदैनन् टुङ्गो छैन् । भनिन्छ थोपा थोपा मिलेर समुन्द्र हुन्छ ।
सबैले एक/एक रुपैयाँ जम्मा गर्न सक्यौं भने पनि लाखौं रुपैयाँ जम्मा हुन सक्छ । सानो सहयोगले कसैको जीवन रक्षा हुन्छ, कसैको परिवारमा खुसी छाउन्छ भने सानो सहयोग गर्न पनि किन पछि हट्ने ? भविश्य कसैले जानेको हुँदैन, समस्या भोली तपाई हामीलाई पनि पर्न सक्छ । आफूले अरुलाई सहयोग गरेमा मात्र अरुले पनि आफूलाई सहयोग गर्न सक्छन् । विष्णुप्रसाद भुसाल बाच्न चाहिरहेका छन् सबै मिलेर उनलाई बचाउँ यसैमा छ धर्म, यसैमा छ सच्चा मानवता ।














प्रतिक्रिया