
काठमाडौँ, २६ मङ्सिर । नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलालाई सामाजिक रुपान्तरण, राजनीतिक अधिकार तथा आर्थिक पहुँच उपलब्ध गराउन सकेमात्र मुलुकलाई समृद्धितर्फ लैजान सकिने बताउनुभएको छ ।
नेपाल युवासंस्था सञ्जालद्वारा आज यहाँ आयोजित ‘राजनीतिमा युवा महिला अवसर र चुनौती’ विषयको कार्यक्रममा संविधानले महिलालाई असीमित अधिकार दिए पनि पितृसत्तात्मक सोचका कारण त्यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभयो ।
उहाँले समाजमा महिलामाथि हुने सबैखाले विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिँदै महिलाले पनि सङ्कीर्ण सोचबाट माथि उठेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।
एमालेका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्राचीन सामाजिक मूल्य तथा मान्यताले गर्दा महिला वर्गलाई आर्थिक विषयवस्तुमा पहुँच नपुगेकाले उनीहरुलाई सबै क्षेत्रमा आउन कठिन रहेको बताउँदै राजनीतिक क्षेत्रमा स्थापित हुनका लागि महिला नै दृढ भई क्रियाशील हुनुपर्ने बताउनुभयो ।
युवा सङ्घका उपाध्यक्ष दिलु पन्तले महिलालाई राज्यको संरचना तथा सार्वजनिक सेवामा सहभागिताको हक संविधानमा कायम रहेकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने विचार व्यक्त गर्दै अहिलेको संविधानले महिलालाई राजनीतिमा मात्र नभई रोजगारी, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा विशेष अवसर प्रदान गरेकाले त्यसलाई क्रमिक रुपमा कार्यान्वयन गराउनुपर्नेमा जोड दिनुभयो ।
नेवि सङ्घका नेत्री रन्जना कार्की, कमला न्यौपाने र अन्जना अर्यालले संविधानले महिलालाई हरेक क्षेत्रमा अधिकार प्रदान गरेको भए पनि व्यावहारिक रुपमा अधिकारलाई अभ्यासमा ल्याउन सबैको सहयोगको अपेक्षा गर्दै नेपालको राजनीतिमा महिलाको सहभागिता न्यून हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रम आयोजक संस्था सञ्जालका महासचिव रुपा उप्रेतीले देश विकास तथा जनतालाई अधिकार उपलब्ध गराउनका लागि राजनीतिक क्षेत्र सशक्त माध्यम भएको बताउँदै त्यसमा नेपाली महिलाको अवसर वृद्धि गर्नका लागि छलफल कार्यक्रम आयोजना गरिएको बताउनुभयो । रासस














प्रतिक्रिया