धनकुटा, २६ मङ्सिर । धनकुटाको च्याङ्च्याङबारीमा आज माइक्रो बस दुर्घटना हुँदा चालकसहित २१ जना घाइते भएका छन् ।
तेह्रथुमको बसन्तपुरबाट झापाको दमकतर्फ जाँदै गरेको वा२ख ९९६३ नंको माइक्रोबस दिउँसो करिब १२ बजे कोसी राजमार्गको धनकुटा–मूलघाट सडकखण्डस्थित धनकुटा नगरपालिका–१५ च्याङ्च्याङबारीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी चालक, सहचालकसहित २१ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये छजनाको अवस्था गम्भीर छ । उनीहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । माइक्रो बस पल्टिँदा मूलघाटबाट धनकुटातर्फ आउँदै गरेको को२२प २१०३ नंको स्कुटरलाई समेत ठक्कर दिएको थियो ।
ओरालो बाटोमा ब्रेक फेल भएर अनियन्त्रित भई भित्तामा ठोक्किएर माइक्रो बस पल्टिएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा परेको माइक्रो बस पूर्णरुपमा क्षति भएको छ । रासस














प्रतिक्रिया