१२ कार्तिक २०८३, बिहिबार

प्रहरीले ‘डिजिटल फरेन्सिक’ प्रविधि प्रयोगमा ल्यायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-policeकाठमाडौँ, २४ मङ्सिर । अपराधमा सूचना प्रविधिको प्रयोग बढेसँगै त्यसलाई नियन्त्रण गर्न प्रहरीले ‘डिजिटल फरेन्सिक’ प्रविधिको प्रयोग सुरु गरेको छ ।

साठीऔँ अपराध अनुसन्धान दिवसको अवसरमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराध अनुसन्धान विभाग, प्रहरी प्रधान कार्यालयमा आज सो प्रविधि शुभारम्भ गर्नुभयो ।

फेसबुक, इमेल, इन्टरनेट, मोबाइल, ल्यापटपजस्ता प्रविधिको अनुगमन र अनुसन्धान गर्न ‘डिजिटल फरेन्सिक’ प्रविधि उपयोगी हुनेछ ।

फेसबुक, मोबाइल, इमेलमार्फत हुने साइबर अपराध रोकथाम गर्न र प्रयोग भएका सामग्रीको अनुसन्धान गर्न यो प्रविधिको प्रयोग गरिनेछ ।

महानिरीक्षक अर्यालले प्रहरीलाई आधुनिकीकरण गर्ने प्रक्रियाको सुरुवातका रुपमा यो प्रविधि भित्र्याइएको बताउनुभयो ।

अहिले भइरहेको अपराधका घटनामा ९० प्रतिशतभन्दा बढी घटनामा कुनै न कुनै माध्यमका सूचना प्रविधिको प्रयोग जोडिएको देखिएकाले अहिले प्रहरीले भित्र्याएको नयाँ प्रविधिमार्फत ती घटनाको अनुसन्धान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – “अहिले अपराधीले सङ्गठित समूह निर्माण र नयाँ प्रविधिको प्रयोग बढाएका छन् । हामीले पनि अन्तर्राष्ट्रिय रुपमा सङ्गठित भएर नयाँ प्रविधिको प्रयोग बढाएरमात्रै त्यसको सामना गर्न सक्छौँ ।”

कार्यक्रममा गृहमन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले प्रहरीले नयाँ चुनौतीको सामना गर्न सोहीअनुरुपको अत्याधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने बताउनुभयो ।

उत्कृष्ट प्रहरी पुरस्कृत

अपराध अनुसन्धान दिवसको अवसर पारेर विभागले उत्कृष्ट कार्य गर्ने विभिन्न प्रहरीलाई आज पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेहरुमा प्रहरी उपरीक्षक योगबहादुर पाल, प्रहरी नायब निरीक्षकहरु भुवन खड्का, ललितबहादुर तामाङ, राजनबहादुर क्षेत्री, प्रहरी हवल्दारहरु प्रभु कोहार, प्रेमप्रसाद शर्मा, सुरेन्द्र कार्की हुनुहुन्छ । उत्कृष्ट प्रहरी कार्यालयतर्फ इलाका प्रहरी कार्यालय सिमरा र बारा पुरस्कृत भए । रासस