– विश्वराज पछल्डङ्ग्या
नेपालगन्ज, २३ मंसिर । बाँकेमा अस्थायी साधन प्रयोग गर्नेको संख्या घट्दै गएको नेपाल परिवार नियोजन संघको तथ्यांकले देखाएको छ ।
सन् २०१३ मा लामो समयको अस्थायी साधन कपर टी र नरप्लान्ट १ सय १४ जनाले प्रयोग गरेकोमा सन् २०१४ मा ४१ जनाले मात्र लामो समयको अस्थायी साधन प्रयोग गरेको नेपाल परिवार नियोजन संघ बाँकेले जनाएको छ ।
कण्डम, पिल्स र डिपो लगाउनेको संख्या पनि घट्दै गएको संघ बाँकेका बरिष्ठ शाखा प्रवन्धक अनिल कुमार बस्नेतले जानकारी दिए । सन् २०१३ मा ६२ दशमलव ९३ प्रतिशत लक्ष्य पूरा भएकोमा सन् २०१४ मा ५३ दशमलव ०६ र सन् २०१५ को १० महिनामा ५७ दशमलव ६५ प्रतिशत लक्ष्य पूरा भएको उनले बताए ।
त्यसैगरी, पिल्स प्रयोग गर्ने महिलाको संख्या पनि बाँकेमा घट्दै गएको छ । सन् २०१३ मा ७९ प्रतिशत लक्ष्य पूरा भएकोमा सन् २०१४ मा ४३ दशमलव ४५ र सन् २०१५ को १० महिनामा ३५ दशमलव ६९ प्रतिशत मात्र लक्ष्य पूरा भएको छ । ‘डिपो लगाउने महिलाको संख्या पनि विगतको बर्षभन्दा घट्दो क्रमममा छ,’ उनले भने ।
स्थायी बन्ध्याकरण गर्नेको संख्या पनि घट्दै गएको बताउँदै उनले सन् २०१३ मा ५३ पुरुष र १ सय ५० महिला गरी २ सय ३ महिलाले स्थायी बन्ध्याकरण गरेको जानकारी दिए । उनले भने, ‘सन् २०१४ मा १ सय ९६ र सन् २०१५ को १० महिनामा जम्मा ८ जनाले मात्र स्थायी बन्ध्याकरण गरेका छन् ।’
अस्थायी साधन प्रयोग गर्ने र स्थायी बन्ध्याकरण गराउने क्रम मधेसी र मुस्लिम समुदायमा बढेपनि अझैँ सन्तोषजनक नभएको संघले जनाएको छ । तर, थारु समुदायमा स्थायी बन्ध्याकरण गराउने र अस्थायी साधन प्रयोग गर्नेको संख्या धेरै छ । संघका बरिष्ठ शाखा प्रवन्धक बस्नेतले भने, ‘सामाजिक र सांस्कृतिक परिवेशका कारण बाँकेका मधेसी र मुस्लिम समसदायले परिवार नियोजनका साधन प्रयोग गर्न र स्थायी बन्ध्याकरण गर्न हिच्किचाउने गरेको पाइन्छ ।’
अस्थायी परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या घट्नुको एकिन कारण परिवार नियोजन संघसँग नभए पनि यूवाको ठूलो समूह बैदेशिक रोजगारी जानु, प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी यूवामा बढ्नु, गर्भ रहने समय र समस्या समाधानका उपायको बारेमा यूवालाई हुनुले घटेको अनुमान संघले गरेको छ । जनस्वास्थ्य कार्यालय बाँकेले सार्वजनिक गरेको तथ्यांकमा पनि परिवार नियोजनका साधन प्रयोग गर्ने र स्थायी बन्ध्याकरण गर्नेको संख्या घट्दै गएको देखाएको छ ।
लामो अवधिका अस्थायी साधन प्रदान गर्ने र कम समयका अस्थायी साधन बितरण गर्ने सेवा केन्द्रको बिस्तार भए पनि एकिन विवरण जिल्ला जनस्वास्थ्य कार्यालयमा आउन नसक्दा कम भएको देखिएको अनुमान गरिएको छ ।
‘अस्थायी साधन वितरण गर्ने सेवा केन्द्रले बिवरण गरेको विवरण जिल्ला जनस्वास्थ्यलाई नदिँदा एकिन विवरण आउन सकिरहेको छैन,’ उनले भने । उनले अस्थायी साधनको महत्व र फाइदाका बारेमा सर्वसाधारणलार्ई सचेतना दिन अपरिहार्य भएको बताए । स्थानीय स्तरमा रहेका स्वास्थ्यकर्मी र स्वयम् सेविकालाई परिचालन गर्नुपर्ने उनको सुझाव छ ।















प्रतिक्रिया