– राकेश नेपाली
उदयपुर, २२ मंसिर । बजारमा दैनिक उपभोग्य बस्तुको कृतिम अभाब र चरम कालोबजारीले सिमा नाघेको छ ।
दैनिक उपभोग्य बस्तुहरु नुन, तेल, मसला, दाल, तरकारीमा अस्वाभाभिक रुपमा मुल्य बढाईएको छ । यसका साथै डिजेल, पेट्रोल र ग्यासको कालो धन्दाले सर्बसाधरण आजित बन्दै गएका छन् । लामो समय देखिकोे मधेस आन्दोलन र नाकाबन्दिको फाईदा उठाउँदै केहि व्यापारी तथा माफियाहरुले प्रशासनकै अघाडी कालाबजारी गरेका हुन् । पछिल्लो समय जिल्लाको सदरमुकाम गाईघाट, व्यापारिक केन्द्रहरु कटारी, बेल्टार, मुर्कुचि, रामपुर, नेपालटार, जलजले, देउरी, साउने लगाएतका स्थानमा उपभोग्य बस्तुहरुमा चरम कालोबजारी भएको सर्बसाधरणले गुनासो गरेका छन् । ग्यास तथा ईन्धन अभाब भएको मौका छोपि व्यापारीहरुले कृतिम अभाब सिर्जना गरेको उनीहरुको गुनासो रहेको छ ।
गाईघाट बजारमा अहिले उपभोग्य बस्तुको मूल्य आकाशिएको छ । गाईघाट बजारको एक किराना पसलमा ८३ रुपैयाँ मुल्य तोकिएको तोरीको तेल १ सय ३५ सम्ममा बिक्री गर्ने गरेको भेटिएको छ । यस्तै बजारमा मुसुरको दाल प्रतिकेजी १ सय ७५ देखि २ सय २० सम्म, मासको दाल प्रतिकेजी १७० दखि २ सय, चिनी प्रति केजी ७२ देखि १ सय १०, प्याज प्रतिकेजि ७० देखि १ सय १५, लसुन प्रतिकेजी २ सय देखि २ सय ६० सम्म, आलु प्रतिकेजि ४० देखि ६५, टमाटर प्रतिकेजि ८० देखि १ सय १५, काउली प्रतिकेजि ७० देखि ९५ सम्म, नुन २० देखि ३० सम्ममा बिक्री गर्ने गरिएको स्थलगत रिर्पोटिङको क्रममा भेटिएको छ । यस्तै दैनिक उपभोग्य सबै बस्तुमा अस्वाभाभिक मूल्य बृद्धि गरिएको छ ।
यस बिषयमा व्यापारिले भने आफुले कालोबजारी नगरेको दाबि गर्छन् । गाईघाट बजारका व्यापारी अमिन चौधरी भन्छन्,“हामिले के कालोबजारी गर्नु, नाकाबन्दि छ, बन्द छ, सजिलै सामान कहाँबाट आउँछ, तपाई आफै भन्नुस !”
यस्तै अर्का व्यापारी बलदेव गुप्ता सहज रुपमा तरकारी तथा सामान आउन नसक्दा मुल्य बढेको बताउछन् । यस्तै अर्का व्यापारी सुर्यनाराएण चौधरी भने अहिलेको यो संकटमा बजार भाउ सामान्य भएको बताउछन् । उनी भन्छन्, “अझै केहि समय यस्तै नाकाबन्दि र ईन्धन अभाब हुने हो भने अहिलेको मूल्यमा कुनै सामन पाईदैन् ।”
तर उपभोक्ता भने यो कुरा मान्ने पक्षमा छैनन् । गाईघाट स्थित तरकारी बजारमा तरकारी किन्न पुगेकी गैरुनकी सानुमाया दनुवारले केहि समय पहिले र हालको मुल्यमा दोब्बर फरक भएको बताईन । उनी भन्छिन्, “बजारमा यस्तो कृतिम अभाब र कालोबजारी हुँदा समेत प्रशासन मुखदर्शक भएर बसेको छ, कानुन भएर के गर्नु कार्यान्वयन नभएपछि ।” यस्तै बजारमा तरकारी किन्न पुगेकी त्रिनपा ७ मोथियाईकी चम्पा थापा उपभोग्य बस्तुमा दिन प्रतिदिनको अस्वाभाभिक मूल्य बृद्धिले आफुलाई आजित बनाएको बताउछिन् । उनि भन्छिन्, “हुनेहरुलाई जतिनै मूल्य बृद्धि भएनी असर छैन, हामी सर्बसाधरणको समस्या कसले बुझिदिने ?”
उपभोग्य बस्तुका साथै डिजेल, पेट्रोल तथा ग्यासमा पनि कालोबजारी भएको उपभोक्ताको गुनासो छ । जिल्लाका केहि पेट्रोल पम्पहरुले आएको मध्ये आदि भन्दा बढि लुकाउने र पछि ब्ल्याकमा बेच्ने गरिएको नाम उल्लेख नगर्ने सर्तमा गाईघाट बजारका एक व्यक्तिले बताए । त्यस्तै उदयपुरमा आएको ग्यास तथा पेट्रोल रातारात काठमाण्डौ लाने गरिएको सर्बसाधरणको आरोप छ । यस बिषयमा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले कालोबजारीको केहि जानकारी आएपनि बजारमा बाहिरबाट कम मात्रामा सामाग्रि भित्रिने गरेकाले अनुगमनलाई भन्दा आयतलाई चासो दिईएको बताए । उनले उपभोग्य बस्तुमा अस्वाभाभिक मूल्यबृद्धि भएको र कृतिम अभाब सिर्जना गर्नेलाई भने कारबाहि गरिने प्रतिबद्धता व्यक्त गरे ।















प्रतिक्रिया