काठमाडौं, २२ मंसिर । भूमि सुधार तथा व्यवस्थामन्त्री रामकुमार सव्वाले दाङको देउखुरी उपत्यकाको लमहीमा भूमि सुधार मन्त्रालय अन्तर्गतको सेवा केन्द्र स्थापना छिट्टै हुने बताउनुभएको छ ।
देउखुरीबाट काठमाडौं पुगेको स्थानीय राजनीतिक दलका नेता तथा नागरिक अगुवाहरूसँग आज (मंगलबार) सिंहदरबारमा भएको भेटवार्ताका क्रममा मन्त्री सुव्वाले आफ्नो कार्यकालमा लमहीमा सेवा केन्द्र स्थापना गर्ने आश्वासन दिनुभएको हो । मन्त्री सुव्वाले देउखुरीका जनता छिटोछरितो सेवा लिने कर्याबाट बञ्चित हुनु परेमा चिन्तासमेत जनाउनुभएको थियो ।
भूमि सुधार तथा व्यवस्था मन्त्रालय अन्तर्गत मालमोत र नापी कार्यालयलाई यसै आर्थिक वर्षभित्र स्थापना गर्नका लागि मन्त्री सुव्वाले तोकआदेश लगाइ सचिवलाई कार्यान्वयनका लागि फाइल अगाडि बढाउन निर्देशनसमेत दिनुभएको छ ।
राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले पनि देउखुरीको लमहीमा सेवा केन्द्र स्थापनाका लागि सहयोग गर्न सुव्वालाई आग्रह गर्नुभएको थियो । सहप्रवक्ता श्रेष्ठले नै मन्त्री सुव्वासँग देउखुरीको टोलीलाई भेटवार्ताको समय मिलाइ दिनुभएको हो ।
टोलीमा सहभागी राष्ट्रिय जनमोर्चाका नेता तथा रेडक्रसकर्मी गंगाराम भट्टराईका अनुसार भूमि सुधार मन्त्रालय अन्तर्गतका कार्यालयहरूको शाखा लमहीमा राख्ने प्रतिवद्धता मन्त्री सुव्वाले दिएको बताउनुभयो ।
आज भूमि सुधार मन्त्रालयमा बुझाइएको ज्ञापनपत्रमा तोक लगाउनु भएका मन्त्री सुव्वाले आवश्यक पर्ने सबै प्रक्रिया पुगाएर लमहीमा सेवा केन्द्र स्थापना गर्न आफूले कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नुभयो ।
भूमि सुधारमन्त्रीलाई भेट गर्न रेडक्रसकर्मी गंगाराम भट्टराईका साथै एमाले सिसहननियाँ गाउँ कमिटीका अध्यक्ष खिमबहादुर के.सी., मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का नेता देवराज चौधरीलगायत आधा दर्जन स्थानीय नेता तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो ।














प्रतिक्रिया