१२ कार्तिक २०८३, बिहिबार

प्रशासनले हेर्ने मुद्दा पनि अब अदालतले हेर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Adalat Ktm Nepalभक्तपुर, २२ मंसिर । जिल्ला प्रशासन कार्यालयले हेर्दै आएको सार्वजनिक अपराधसम्बन्धी मुद्दाहरु अब जिल्ला अदालतले हेर्न थालेको छ ।

नयाँ संविधानमा एक वर्षभन्दा बढी सजाय हुने कुनै पनि सार्वजनिक मुद्दा जिल्ला अदालतले हेर्ने र अदालतबाटै कारबाही अगाडि बढाउने व्यवस्था भएपछि भक्तपुर जिल्ला अदालतले सार्वजनिक अपराधसम्बन्धी मुद्दा हेर्न थालेको हो ।

भक्तपुर जिल्ला अदालतका स्रेस्तेदार खड्गराज अधिकारीले यसअघि जिल्ला प्रशासन कार्यालयले हेर्दै आएको सार्वजनिक अपराधसम्बन्धी मुद्दा मङ्सिर महिनादेखि भक्तपुर जिल्ला अदालतले हेर्न थालेको जानकारी दिनुभयो ।

यसअघि यस्ता मुद्दाका दोषी वा आरोपीलाई प्रहरीले पक्राउ गरी थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयमा पेस गरेर प्रमुख जिल्ला अधिकारीले म्याद थप गर्ने, थुनामा राख्ने वा छाड्ने आदेश दिने गरिन्थ्यो ।

अब यस्ता मुद्दाको आरोपी पक्राउ परेपछि प्रहरीले जिल्ला अदालतमा पेस गर्ने र म्याद थप गर्ने, थुनामा राख्ने आदेशलगायतका अनुसन्धान गर्ने भएको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी तोयम रायाले जिल्ला प्रशासनले हेर्दै आएका सार्वजनिक मुद्दाहरु जिल्ला अदालत पठाउन थालिएको बताउनुभयो । रासस