– नरेन्द्रसिह कार्की
दार्चुला, २१ मंसिर । दार्चुलाको घुसा गाविस आइतबार पूर्ण साक्षर गाविस घोषणा भएको छ । गाविस सचिव रामसिह साउँद र स्रोत व्यक्ति केशवदत्त जोशीले एक कार्यक्रमका माझ गाविसलाई पूर्ण साक्षर गाविस घोषणा गरेका हुन् ।
गाविसको कुल १ हजार ७ सय ७९ जनसंख्या रहेकोमा ९८ दशमलव ९८ प्रतिशत जनसंख्या साक्षर भएपछि पूर्ण साक्षर गाविस घोषणा गरिएको स्रोत व्यक्ति जोशीले बताए । गाविसमा १८ जना निरक्षर रहेका छन् । गाविस साक्षर हुन ९५ प्रतिशत जनसंख्या साक्षर भएको हुनुपर्छ ।
सन् २०१५ भित्र साक्षर नेपाल घोषणाको पूर्व तयारी स्वरुप जिल्लाभरी पूर्ण साक्षर गाविस घोषणा भएका हुन् । दार्चुलालाई पुष दोस्रोसातासम्म पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी भएको छ । १५ देखि ६० वर्ष उमेर समूहका नागरिक साक्षर भयो भने पूर्ण साक्षर घोषणा भएको मानिन्छ ।
शनिबार खण्डेश्वरी गाविस घोषणा भएको थियो । गाविस सचिव लक्ष्मणसिह धामीको अध्यक्षतामा भएको घोषणा सभामा स्रोत व्यक्ति केशवदत्त जोशी प्रमुख अतिथि रहनुभएको थियो । खण्डेश्वरीमा ९८ प्रतिशत जनसंख्या साक्षर रहेको सचिव धामीले जानकारी दिए ।
जिल्ला शिक्षा कार्यालयले जिल्लाभरी नै स्रोत केन्द्रमार्फत साक्षर गाविस घोषणा गर्न स्रोत व्यक्ति परिचालन गरेको छ । अहिलेसम्म १४ गाविस पूर्ण साक्षर गाविस घोषणा गर्न तयार देखिएको जिल्ला शिक्षा अधिकारी विष्णुदत्त भट्टले बताए ।
जिल्ला शिक्षा कार्यालय दार्चुलाका अनुसार जिल्लाभरी ९५ प्रतिशत बढि जनसंख्या साक्षर भएका छन् । २०६८ को जनगणनाअनुसार जिल्लामा १५ देखि ६० वर्ष उमेरसमूहका जनसंख्या ६९ हजार २ सय ६२ रहेकोमा निरक्षर संख्या ३१ हजार ८ सय २० थियो । सो तथ्यांकलाई आधार मान्ने हो भने जिल्लाभरी हाल ९१ जना निरीक्षर बाँकी रहेको देखिएको छ । गत आर्थिक वर्षमा जिल्लामा २ हजार ७ सय ५४ जना निरीक्षर साक्षर भएका थिए ।














प्रतिक्रिया