काठमाडौँ, १५ मङ्सिर । नेपाल पत्रकार महासङ्घले तराई–मधेसलगायत विभिन्न जिल्लामा भएको आन्दोलनका क्रममा घाइते भएका र सञ्चार सामग्रीमा क्षति पुगेका पत्रकारलाई आज आर्थिक सहयोग गरेको छ ।
महासङ्घले सुर्खेतमा प्रहरीको गोली लागी घाइते भएका बुलबुले एफएममा कार्यरत पत्रकार आइसिंह रोकायमगरलाई उपचार खर्चबापत रु एक लाख दुई हजार सात सय सहयोग गरेको जनाएको छ ।
इन्टरनेसनल मिडिया सपोर्ट (आइएमएस) मार्फत प्राप्त उक्त रकम महासङ्घका अध्यक्ष डा महेन्द्र बिष्टले पत्रकार रोकायमगरलाई हस्तान्तरण गर्नुभएको महासङ्घका कोषाध्यक्ष सूर्यमणि गौतमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
“महोत्तरीमा समाचार सङ्कलनका क्रममा प्रहरीको लाठी प्रहारबाट क्यामेरा पूर्ण क्षति भई घाइते भएका महासङ्घ महोत्तरी शाखाका सचिव विक्रमप्रसाद रौनियार र मोरङमा समाचार सङ्कलन गर्ने क्रममा प्रदर्शनकारीको आक्रमणबाट मोटरसाइकल र क्यामेरा क्षति भएका मकालु टेलिभिजनमा कार्यरत पत्रकार नवीन कर्णलाई जनही रु १०÷१० हजार सहयोग गरेको छ”–विज्ञप्तिमा उल्लेख छ ।
यसअघि आन्दोलनकारीको आक्रमणबाट घाइते भएका कैलाली एफएममा कार्यरत पत्रकार नवराज खनाललाई उपचार खर्चबापत महासङ्घले रु सात हजार उपलब्ध गराएको थियो ।
महासङ्घले जारी तराई–मधेसलगायत विभिन्न स्थानमा भएको आन्दोलनको समाचार सङ्कलन गर्ने क्रममा घाइते भएका र सञ्चार सामग्री क्षति भएका पत्रकारको विवरण सङ्कलन गर्ने काम जारी रहेको र महासङ्घका तर्फबाट सक्दो सहयोग गर्दै आएको जनाएको छ । रासस














प्रतिक्रिया