नुवाकोट, २३ कात्तिक । त्रिशूली प्लसले नुवाकोट जिल्लाका ३५ जना एचआइभी सङ्क्रमितलाई आयआर्जन र जीविकोपार्जनका लागि जनही रु १५ हजारका दरले सहयोग प्रदान गरेको छ ।
संस्थाले जिल्लामा ग्लोवल फन्डको आर्थिक सहयोग र सेभ द चिल्ड्रेन, एनएपिएनको साझेदारीमा एचआइभी सङ्क्रमित व्यक्तिहरुलाई लक्षित गत असारदेखि कात्तिक मसान्तसम्म आकस्मिक सहयोग कार्यक्रम सञ्चालन गरेको थियो । संस्थाले सोही कार्यक्रमअन्तर्गत नुवाकोटका ३५ र रसुवाका दुईजना गरी ३७ जना सङ्क्रमितलाई नगद सहयोग गरेको हो ।
संस्थाले यस अवधिमा नुवाकोटका एक सयजना र रसुवाका पाँचजना सङ्क्रमितलई रु १५ हजारका दरले जीविकोपार्जनका लागि सहयोग गरेको संस्थाका राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । नुवाकोटका ४५८ जना एचआइभी र एड्स सङ्क्रमितको पहिचान भएको तथ्याङ्क रहे पनि त्रिशूली प्लसको नियमित सम्पर्कमा दुई सयजना मात्र रहेका छन् ।
यस्तै यस अवधिमा नुवाकोटका ८० जना र रसुवाका १० जनालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । यस्तै नुवाकोटका २५ र रसुवाका ३० जना बालबालिकालाई पनि पोषणयुक्त खानेकुरा प्रदान गरिएको छ ।
संस्थाले सोही कार्यक्रमअन्तर्गत जिल्लाका तीन स्थानमा निःशुल्क स्वास्थ्य उपचार शिविरसमेत सम्पन्न गरेको छ । रातमाटे गाविसमा सञ्चालन भएको निःशुल्क शिविरमा १२१, विदुर नगरपालिकाको इनारपाटीमा १२०, विदुरमा सञ्चालित शिविरमा ११० जनासहित रसुवाको धैबुङ कालिकास्थानमा सञ्चालन भएको शिविरमा १०० भन्दा धेरैले स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा आएकालाई निःशुल्क औषधिसमेत प्रदान गरिएको थियो ।
यस कार्यक्रमअन्तर्गत सङ्क्रमित व्यक्तिहरुलाई पोषणको कार्यक्रम, आयआर्जनमूलक कार्यक्रम, बालबालिकालाई पोषण खानेकुरा प्रदानजस्ता कार्यक्रम सञ्चालन हुँदै आएको थियो । रासस















प्रतिक्रिया