१२ कार्तिक २०८३, बिहिबार

आयुर्वेदका प्रवर्तक धन्वन्तरीको जयन्ती मनाइदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhanvantari-devकाठमाडौँ, २३ कात्तिक । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज धन्वन्तरी जयन्ती मनाइँदैछ ।

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक हिन्दू शास्त्रमा गरिएको छ । यसैकारण आजको त्रयोदशीलाई धन त्रयोदशी पनि भनिन्छ ।

आधुनिक युगसँगै मानिसले प्रकृतिमै पाइने जडीबुटीजन्य औषधिलाई बिर्सन थालेकाले सचेतनाका रुपमा धन्वन्तरी जयन्ती मनाउन लागिएको सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक राजेन्द्रकुमार गिरी बताउनुहुन्छ ।

“नेपाल जलस्रोतपछि अपार जडीबुटीले भरिएको देश हो, यस्तो स्रोत भइकन पनि हामीले वार्षिक अर्बौं रुपैयाँको रासायनिक पदार्थ मिसिएको औषधि भित्र्याउने गरेका छौँ, अब हाम्रै देशमा पाइने जडीबुटीबाट बनेको आयुर्वेदिक औषधिको प्रवद्र्धन गर्न सरकारले ठोस नीति ल्याउनुपर्छ” – उहाँले भन्नुभयो ।

अथर्ववेदबाट आयुर्वेदको उत्पत्ति भएको हो । जसमा ‘यस्य देशस्य योः जन्तोः तस्य तद् औषधम् हितम्’ अर्थात् जुन देशको जुन चिज हो, त्यस देशका लागि त्यही औषधि हितकारी हुन्छ, भनिएको छ ।

आजको दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । विसं १९७४ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा सञ्चालित आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा स्थानान्तरण भएको छ ।

आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पहलमा विसं २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।

धन्वन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालहरुमा समेत विविध कार्यक्रम गरी मनाउने गरिन्छ ।

नेपालमा आयुर्वेद औषधि उद्योग स्थापना गरी उत्पादन गर्न सकिए विदेशमा पनि निर्यात गर्न सकिने समितिले जनाएको छ । ३७५ वर्षअघि राजा प्रताप मल्लको शासनकालमा स्थापना भएको सिंहदरबार वैद्यखाना २१ वर्षअघिबाट सिंहदरबार वैद्यखाना विकास समितिमा परिणत भएको थियो । रासस