काठमाडौँ, २२ कात्तिक । सगुन समूहले ‘सगुन डटकम’ सामाजिक सञ्जालको दोस्रो संस्करण सुरु गरेको छ ।
संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आउनुभएका नेपाली नागरिक गोविन्द गिरीले लामो समयको मेहनतपछि स्थापना गरेको सो सञ्जालको आज प्रधानमन्त्री केपी शर्र्मा ओलीले उद्घाटन गर्दै सरकार विद्युतीय सरकारी सेवा (इगभर्नेन्स) मा जान चाहिरहेको बताउनुभयो ।
आधुनिक र विकसित नेपाल निर्माणका लागि सूचना प्रविधिको विकास आवश्यक पर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।
कार्यक्रममा उपप्रधानमन्त्री कमल थापाले सपना, परिकल्पना र आत्मविश्वासका साथ सुरु भएको सो सञ्जालले नेपाल र नेपालीलाई विश्वमा चिनाउने बताउनुभयो । पूर्वमुख्यसचिव लीलामणि पौड्यालले नेपालले अन्य उद्योगको तुलनामा ज्ञानमा आधारित उद्योगमार्फत आर्थिक विकास गर्ने प्रचूर सम्भावना रहेको औँल्याउनुभयो र
कार्यक्रममा सगुन समूहका संस्थापक गिरी, सहसंस्थापक कवीन्द्र सिटौला, एसिया निर्देशक स्वाती दयाल, हेल्प नेपालका संस्थापक रवीन्द्र मिश्र, सगुन समूहका नेपाल प्रतिनिधि एवम् नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी र रेडियोकर्मी सविना कार्कीले सो सञ्जालले विश्वमा नेपाललाई चिनाउने धारणा राख्नुभएको थियो ।
सम्बन्ध जोड्ने, आदानप्रदान गर्ने र ज्ञान वृद्धि गर्ने सुविधा सहितको सो सञ्जाल उद्घाटनका क्रममा हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेले आआफ्नो प्रस्तुति दिनुभएको थियो । सञ्जालले आम्दानी हुने केही हिस्सा नेपालको सामाजिक क्षेत्रमा खर्चने जनाएको छ । रासस
















प्रतिक्रिया