काठमाडौँ, २१ कात्तिक । काठमाडौँबाट हङकङका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ ।
आज बिहान ११ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङ्कङका लागि उडेको एसएसडब्ल्यु ४०९ एयरबसमा एक प्रकारको गन्ध आएपछि फर्काइएको हो । “विमानमा एक प्रकारको गन्ध आएपछि चालक दलले जहाजलाई विमानस्थल फर्कायो, हाल प्राविधिक परीक्षण भइरहेको छ”–निगमका प्रवक्ता रामहरि शर्माले बताउनुभयो , “विमान उडेको करिब ५५ मिनेटमा समस्या देखिएको पत्ता लागेको थियो ।”
प्रवक्ता शर्माले जहाजमा देखिएको समस्या के हो भन्ने बारेमा प्राविधिक परीक्षण नगरी केही भन्न नसकिने बताउनुभयो । चालक दलले विमान आकस्मिक अवतरणका लागि आग्रह गरेपछि केही बेर विमानस्थलमा अन्य सेवा प्रदायकका जहाजको उडान र अवतरणसमेत स्थगन गर्नुपरेको थियो ।
विमानको आकस्मिक अवतरण गर्नुपर्ने भएपछि विमानस्थलमा अग्निनियन्त्रक सवारी र अन्य अत्यावश्यकीय व्यवस्था समेत गरिएको बताइएको छ । रासस















प्रतिक्रिया