११ कार्तिक २०८३, बुधबार

अञ्चल अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा विरामी समस्यामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doctor– रबिना बोहरा
बागलुङ, २० कात्तिक । पछिल्लो समय बागलुङबाट विभिन्न अस्पतालमा बिरामीहरुलाई पठाउने रिफर सेन्टर रुपमा बिकसित हुँदै आएको धौलागिरि अञ्चल अस्पताल बागलुङमा विशेषज्ञ डाक्टर नहुँदा दैनिक बिरामीहरुले समस्या भोगिरहनु परेको छ ।

अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा दक्ष डाक्टर नहुँदा यहाका बिरामीहरु विगत देखि नै पिडित छन् । बागलुङ अस्पतालको स्तरोन्नतीपछि बनेको अञ्चल अस्पतालमा दरबन्दी अनुसारका डाक्टर नहुदा पनि सेवा प्रभावित भएको हो । नाम अञ्चल अस्पताल रहेता पनि प्रविधि, उपकरण र सेवाको गुणस्तर पुरानै हुँदा समस्या भएको हो । करोडौँ लागतमा अत्याधुनिक भवन बनेता पनि रिफर सेन्टरको रुपमा स्थापित भएको बागलुङबासीले गुनासो छ ।

मन्त्रालयले तोक अनुसार डाक्टर नहुँदा बिरामीलाई पोखरा, काठमाण्डौँ रिफर गर्नुपर्ने बाध्यता रहेको छ । अस्पतालमा काम गर्ने समुहहरु नै नमिल्दा बिरामी मर्कामा परेका छन् । अस्पताललाई राम्रो र व्यवस्थित बनाउनका लागी अस्पताल विकास समितिले विभिन्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरेता पनि त्यो कार्यक्रममा मात्र सिमित भएको छ । धौलागिरि अञ्चलको बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जनतालाई स्वास्थ्य सेवा दिने भनि घोषणा भएको धौलागिरि अञ्चल अस्पतालको हालत अझै पनि स्वास्थ्य केन्द्रभन्दा माथि उठ्न नसकेको सर्वसाधारणहरुले बताउदै आएका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष टिकाराम सापकोटाले अस्पतालबाट जनताहरुको स्वास्थ्य सेवा गर्न नसकिएको यथार्थ सत्य भएको स्वीकार गर्नुभएको छ । यहाका समस्यालाई आन्तरिक प्रयत्नबाट सुल्झाउने प्रयास गरिरहेको भन्दै प्रशासन र विकास समितिको बिचमा सम्वन्वय कम भएको र दृष्टिकोण पनि मिल्न नसकेको सापकोटाले बताउनुभयो । सापकोटाले एक्सरे मेसिन ल्याउने प्रयास गरिरहेको भन्दै डाक्टरहरुलाई बागलुङमा ल्याउन नसकेकाले नागरिकहरुबाट पनि सकरात्मक सोचका साथ सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

‘अस्पतालका स्टाफहरुमा मनोबैज्ञानिक समस्या छ, हामी जनताको सेवाको लागी यो सेवामा प्रवेश गरेका हौ, त्यसैले जनताप्रति एवं सेवाग्राहीप्रति उत्तरदायी बन्नुपर्छ भन्ने भावनाको कमी पाएका छौ’ उहाले भन्नुभयो । जिम्मेवारी बोध गर्नुपर्ने स्पष्ट प्रतिवद्धता आउनुपर्ने भन्दै स्टाफहरुलाई मनोवैज्ञानिक तरिकाबाट गोष्ठी, तालिमहरु दिनुपर्ने आवश्यकता पनि देखिएको सापकोटाले बताउनुभयो । आगामी दिनमा व्यवस्थित गर्दै जाने सापकोटाले बताउनुभयो ।

यस्तै अस्पतालका सुपरिटेण्डेण्ट डा. तरुण पौडेलले बागलुङबाट दिन सकिने सेवाहरु यहिबाटै दिने भनेता पनि पहिले नै बिरामीहरु पोखरा, काठमाण्डौँ जाने गरेको आरोप लगाउनुभयो । आम जनतामा अस्पतालबाट दिन सकिने सेवाको सन्देश पु¥याउन नसकेको भन्दै अस्पताल रिफर सेन्टर नभएको दाबी गर्नुभयो ।