११ कार्तिक २०८३, बुधबार

सरकारको अर्जुनदृष्टि तराई–मधेसको समस्या समाधान: सञ्चारमन्त्री राई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ser-dhan-raiकाठमाडौँ, २० कात्तिक । सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले सरकारको अर्जुनदृष्टि संविधानसँग जोडिएर तराई–मधेसमा देखिएको समस्या समाधानमा हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले मन्त्री राईलाई बधाई र शुभकामना दिन आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले तराई–मधेसमा देखिएका ती असन्तुष्टिलाई वार्ता र संवादमार्फत सम्बोधन गरी निष्कर्षमा पु¥याइने बताउनुभयो ।

अघोषित नाकाबन्दीका कारण जनताले भोग्नुपरेको सास्तीलाई पनि समाधान गर्न सरकार ठोस नीति, कार्यक्रम र योजनाका साथ अघि बढ्ने बताउँदै मन्त्री राईले भन्नुभयो, “वर्तमान सरकारसँग नयाँ संविधानलाई अक्षरशः कार्यान्वयन गर्ने, संविधानसँग जोडिएर देखिएका असन्तुष्टि र जायज मागलाई सम्बोधन गर्ने तथा भूकम्पपछिको पुनःनिर्माण र नवनिर्माणलाई योजनाबद्ध रुपमा अघि बढाउने ऐतिहासिक कार्यभार रहेको छ ।”

उहाँले मुलुकको राष्ट्रिय एकता, सामाजिक सद्भाव र भौगोलिक अखण्डता तथा सार्वभौमिकता अक्षुण्ण राखेर मुलुकको विकास, उन्नति र प्रगतिका निम्ति जनताको विकास र समृद्धिको चाहनालाई साकार रुप दिनका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गर्नुभयो ।

संविधान जारी भएलगत्तै छिटफुट रुपमा केही नकारात्मक भावना फैलाइएको, भावनात्मक एकतालाई खल्बल्याउने, साम्प्रदायिक विद्वेष फैलाउने, सामाजिक सद्भावलाई भड्काउने र मुलुकलाई कमजोर बनाउने खालका चिन्तन र अभिव्यक्तिलाई सञ्चारमाध्यमले प्रोत्साहन गर्न नहुनेमा उहाँको जोड थियो ।

जाति, धर्म र भौगोलिक विविधता नै मुलुकको पहिचान, सुन्दरता, गौरव र शान हो भन्दै व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिका सभापतिसमेत रहनुभएका मन्त्री राईले त्यसलाई जोगाउने र खँदिलो बनाएर मुलुकलाई अघि बढाउन सञ्चारमाध्यमले पनि त्यसलाई बोधगरी सोही अनुसारको भूमिका खेल्ने अपेक्षा गर्नुभयो ।

उहाँले सिङ्गो प्रेसजगत्लाई प्रोत्साहन गर्नका निम्ति पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएको र संविधानमा नै किटानीका साथ लेखेर सञ्चारजगत्लाई व्यवस्थित, पारदर्शी र जनताप्रति जवाफदेही र उत्तरदायी बनाउन आग्रह गरिने बताउनुभयो ।

पटकपटकका आन्दोलन र उपलब्धिलाई नयाँ संविधानले संस्थागत गरेको बताउँदै उहाँले भन्नुभयो, “संस्थागत गरिएका उपलब्धिलाई व्यवहारमा कार्यान्वयन गर्दै त्यसको प्रतिफल हामी जनतासमक्ष पस्कन चाहन्छौँ । मुलुकलाई धनी, सुखी र सम्पन्न बनाउने जनताको एक मात्र चाहनालाई साकार रुप दिने आजको हाम्रो यो सरकारको मुख्य कार्यभार हो । हामी एक युगको अन्त्य गरी नयाँ युगमा प्रवेश गरेका छौँ ।”

संविधान जारी भएपछि पनि प्रमुख दलहरुबीच एकता र सहकार्य निरन्तर रहोस् भन्ने जनताको चाहनाबमोजिम प्रमुख दल सहमति र सहकार्यका साथ मुलुकका समस्या समाधान गर्न एक ठाउँमा उभिने पनि मन्त्री राईको विश्वास थियो ।