काठमाडौं, १८ कात्तिक । सदभावना पार्टीका अध्यक्ष तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतोमाथि आक्रमण भएको छ ।
कार्यकर्ता भेट्न प्रहरी कार्यालय गइरहेका महतोमाथि जनतालाई नाकाबन्दीमा पारेर आफू मोटरसाइकलमा चढेको भन्दै बाराका जनताले आक्रमण गरेका हुन् । उनीहरुले महतोको मोटरसाइकलको चावी खोसेर हातपात समेत गर्न खोजेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
महतो मोटरसाइकलमा चढेर इलाका प्रहरी कार्यालय सिमरा जाँदै थिए । उनलाई स्थानीय जनताले प्रहरी चौकी नजिकै आक्रमण गरेका हुन् । पछि प्रहरीले नै महतोलाई विवादको घेराबाट बचाएर थुनुवा(कार्यकर्ता) भेटाएको थियो ।
भेटपछि पत्रकारमाझ संक्षिप्त प्रतिक्रिया दिँदै सदभावना अध्यक्ष महतोले आफूहरुको नाकाबन्दी आन्दोलनलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन रहेको बताए । भारततर्फ संकेत गर्दै उनले भने- ‘लामो समय सडक आन्दोलन गरेका जनताले नाकाबन्दी आन्दोलन गर्दा त्यसमा कसैले सहयोग गर्नु अपराध होइन’ उनले भने । घटनापछि प्रहरीले महतोलाई सुरक्षा दिएर वीरगञ्जतर्फ पठाएको थियो ।
















प्रतिक्रिया