काठमाडौँ, १८ कात्तिक । नेपाली काँग्रेसको कात्तिक १५ गतेदेखि जारी केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम आज पनि जारी रह्यो ।
आजको बैठक पनि प्रधानमन्त्री निर्वाचनमा सभापति कोइरालाको उम्मेदवारीका विषयमा केन्द्रित भएको थियो ।
आज बोल्नेमध्ये अधिकांशले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिने सभापति कोइरालाको निर्णय गलत र अपरिपक्क भएको भन्दै त्यसको विपक्षमा धारणा राखेको केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
अधिकांश केन्द्रीय सदस्य सभापति कोइरालाको विपक्षमा बोले पनि केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले भने सभापतिको बचाऊ गर्नुभएको थियो ।
बैठकमा नेता नरहरि आचार्यले मुलुकमा धेरै कुरा परिवर्तन भए पनि काँग्रेसको कार्यशैली परिवर्तन हुन नसकेको भन्दै अब पार्टीले तत्कालै कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
केन्द्रीय सदस्य प्रदीप गिरीले प्रधानमन्त्रीको निर्वाचनमा उम्मेदवारी दिने पार्टीको रणनीति भए पनि त्यसअनुसारको कार्यनीति बन्न नसकेको बताउनुभयो ।
केन्द्रीय सदस्य भिष्मराज आङ्दम्बेले लहडमा लागेर सभापति कोइरालाले एक्कासि उम्मेदवारी दिनु कमजोरी भएकाले अब गल्तीभन्दा माथि उठेर पार्टीका लागि अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
आजको बैठकमा केन्द्रीय सदस्य दिलबहादुर घर्ती, रमेश रिजाल, फरमूल्लाह मन्सुर, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुङ्गाना, रामकुमार चौधरी, कमला पन्त, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, जीवन परियार, ईश्वरी न्यौपाने, पार्वता डिसी चौधरी र केशव सिंहले पनि धारणा राख्नुभएको थियो ।
केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहान ११ बजे पुनःबस्नेछ ।















प्रतिक्रिया