लहान, १८ कात्तिक । प्रहरीको गस्ती टोलीले सिरहा नगरपालिका–१५ बाट प्रतिबन्धित लागुऔषध कोरेक्ससहित एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित सिरहाको अर्नामा प्रपि गाविस-४ निवासी १८ वर्षीय रवीनकुमार साहलाई पक्राउ गरेको हो ।
सिरहा नगरपालिका-१५ सखचैनास्थित भारतीय सीमा नाकामा ‘चेक प्वाइन्ट’ थापेर सवारी जाँचका क्रममा ‘अनटेष्ट’ मोटरसाइकलमा सवार साहको झोलाबाट ४३ बोतल कोरेक्स बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । यसैगरी प्रहरीले गए राति गोलबजार नगरपालिका-१ बाट बेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय गोलबजारबाट गस्तीमा खटिएको टोलीले सिरहा नगरपालिका–१ स्थित मुक्सारगोला जङ्गलमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक र ५० ग्राम बारुद बरामद गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया