काठमाडौं, १८ कात्तिक । विगत तीन महिनादेखि तराई मधेसमा आन्दोलन गरिरहेको मधेसी मोर्चाले आफ्ना मागको अन्तर्राष्ट्रियकरण सुरु गरेको छ ।
सरकारले मागलाई सम्बोधन गर्नेतर्फ ध्यान नदिएको ठहरमा रहेको मधेसी मोर्चाले ती मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न थालेको हो ।
मधेसी मोर्चाका तर्फबाट मधेसका मागलाई अन्तर्राष्ट्रियकरण गर्न सद्भावना पार्टीका सहमहासचिव देवेन्द्र यादव जेनेभा प्रस्थान गर्नुभएको छ । यादव दुई दिन अगाडि त्यसतर्फ जानु भएको हो ।
सद्भावना पार्टीका महासचिव मनीष सुमनका अनुसार मधेसी मोर्चाले उठाएका जायज मागका विषयमा सरकारले नसुनेपछि त्यसलाई अन्तर्राष्ट्रिय जगतमा पनि जानकारी गराउने उदेद्दश्यले यादवलाई जेनेभा पठाइएको हो ।
शान्तिपूर्ण मधेस आन्दोलन दमन गर्न राज्य पक्षबाट भएको अधिक बल प्रयोग र मानवअधिकारहननका विषयमा सहमहासचिव यादवले कुरा उठाउनु हुने महासचिव सुमनले बताउनुभयो ।
मधेस आन्दोलनका विषयमा कुरा उठाउन कै लागि थर्ड एलाइन्सका तर्फबाट अधिवक्ता दीपेन्द्र झा पनि जेनेभा जानु भएको छ । झाले पनि मधेसी मोर्चाका माग र मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सहोग गर्नु हुनेछ ।
जेनेभाको सोही कार्यक्रममा सहभागी हुन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा पनि जानु भएको छ ।















प्रतिक्रिया