– भोलाराज पौडेल
नुवाकोट, १७ कात्तिक । रसुवाको राम्चेमा मंगलबार बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । दुर्घटनामा परी गम्भीर घाइतेमध्ये नुवाकोटको त्रिशूली अस्पतालमा पाँच, काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा एक र जिल्ला अस्पताल धुन्चेमा एकजनाको मृत्यु भएपछि मृतकको सङ्ख्या ३६ पुगेको हो । घटनास्थलमा २९ यात्रुको मृत्यु भएको थियो ।
काठमाडौंबाट रसुवाको चिलिमे जाँदै गरेको वा ३ ख ५७०६ नम्बरको यात्रु बस मंगलबार दिउँसो साढे १२ बजे राम्चेमा दुर्घटना भएको थियो । झण्डै ७० यात्रु चढेको बस दिउँसो साढे १२ बजे राम्चे गाविस ४ ग्राङ भन्ने स्थानमा दुर्घटना भएको हो ।
करिब ८९ यात्रु बोकेको वस सडकबाट झण्डै २ सय ५० मिटर तल खसेर बस टुक्रा टुक्रा परेको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्धार गरी घाइतेहरुलाई उपचारका लागि नुवाकोट, रसुवा र काठमाडौंमा पठाएका छन् ।
मृतकका आफन्तलाई शव पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको रसुवा प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिनुभयो । यता, नुवाकोट प्रहरीले दिएको जानकारी अनुसार जिल्ला अस्पताल त्रिशूलीमा उपचारका लागि ल्याएका ३५ जना मध्ये पाँच जनाको मृत्यु भएको छ । पाँच जनाको उपचार भइरहेको छ । गम्भीर घाइते १६ जनालाई नेपाली सेनाको हेलिकप्टर र ९ जनालाई वस तथा एम्वुलेन्सबाट काठमाडौं पठाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मृतक सबैको सनाखत नभइसकेकोले शव आफन्तलाई जिम्मा लगाएपछि मात्रै मृतकहरुको पहिचान हुने बताउनुभएको छ ।
यसकारण भयो दुर्घटना
घाइते यात्रुहरूका अनुसार बसको अघिल्तिरको टायर पड्केपछि बस अनियन्त्रित भएर भिरबाट खसेको थियो । केही यात्रुले बसको छतबाट हाम फालेर ज्यान जोगाएका थिए । सदरमुकाम धुन्चेदेखि १२ किमी दक्षिण टाढा रहेको घटनास्थलमा दुर्घटना हुँदा बसभित्र र बाहिर छतमा यात्रुहरु खचाखच भरिएका थिए ।
फोटो : हेमनाथ खतिवडाबाट



















प्रतिक्रिया