काठमाडौँ, १६ कात्तिक । पत्रकारमाथि हुने दण्डहीनता रोक्न सबै पक्ष एक हुनुपर्ने सरोकार भएकाहरुले बताएका छन् ।
पत्रकारविरुद्व हुने अपराधजन्य दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा विकास सञ्चार समाज नेपाल (सोडेक—नेपाल) र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा पत्रकारमाथि हुने हिंसाको विरुद्धमा छुट्टै कानुन आवश्यक रहेको बताए ।
राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले सञ्चारमाध्यम र पत्रकार जबसम्म सुरक्षित रहन सक्दैनन् तबसम्म जनता सूचनाको हकबाट पछाडि पर्छन् भन्दै पत्रकारको सुरक्षाका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले पत्रकारको सत्य समाचार सम्प्रेषण गरेर जनताको मन जित्न सके मात्र पत्रकार सुरक्षित हुने बताउँदै पत्रकारको सुरक्षाका लागि प्रभावकारी कानुनको आवश्यकता रहेको औँल्याउनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारको सुरक्षाका लागि राज्यले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रताको दुरुपयोग गरेर कतिपय पत्रकार असुरक्षित भएको भन्दै पत्रकारलाई प्रेस स्वतन्त्रताको दुरुपयोग नगर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सोडेक नेपालका अध्यक्ष पियुषराज मिश्र, युनेस्को सूचना हक परियोजना संयोजक जेबी विश्वकर्मा, पत्रकार निर्मलमणि अधिकारी र लक्ष्मणदत्त पन्तले पत्रकार असुरक्षाका अधिकांश घटना द्वन्द्वकालमा भएको बताउनुभयो । पत्रकार महासङ्घले हालसम्म नेपालमा दण्डहीनताका कारण ३५ जना पत्रकारको हत्या भएको तथा चार पत्रकार बेपत्ता भएको तथ्याङ्क सार्वजनिक गरेको छ । सो अवसरमा पत्रकारमाथि हुने जघन्य अपराधलाई समेटेर प्रस्तुत गरिएको पुस्तक ‘नेपालमा दण्डहीनता’ विमोचन गरिएको थियो । रासस















प्रतिक्रिया