११ कार्तिक २०८३, बुधबार

कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

MUGU-AIRPORTमुगु, १६ कात्तिक । दसैँ बिदा सकिएको सातादिनभन्दा बढी बितिसक्दा पनि मुगुमा रहेका अधिकांश सरकारी कार्यालयका प्रमुखहरु कार्यस्थलमा नफर्कंदा सेवाग्राही जनताले समयमा नै सेवा लिन पाइरहेका छैनन् ।

दसैँ बिदा गत ७ गतेबाट सकिए पनि जिल्ला वन कार्यालय, पशुसेवा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, सिँचाइ डिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, महिला तथा बालबालिका कार्यालय, हुलाक कार्यालय, नापी कार्यालय, जिल्ला कारागार कार्यालय, जिल्ला विकास समिति कार्यालय, जिल्ला प्राविधिक कार्यालय, जिल्ला आर्युवेद कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, शान्ति समिति, गमगाढ वितरण केन्द्र, कोष तथा लेखा नियन्त्रण कार्यालय र जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुखहरु अझै जिल्लामा आएका छैनन् ।

कार्यालयमा सेवाग्राही आउने क्रम सुरु हुन थाले पनि कार्यालयमा कार्यालय सहायकमात्र भएकाले सेवाबिनै सेवाग्राही घर फर्कनुपर्ने बाध्यता रहेको छ ।

शुक्रबार घरेलु तथा साना उद्योग विकास समितिमा उद्योग नवीकरण गर्न आएका श्रीनगर– ५ का नृपेन्द्र मल्लले उद्योग नवीकरण गर्न पाएनन् कारण थियो कार्यालयमा प्रमुख थिएनन् कार्यालयमा रहेका खरिदारस्तरका कर्मचारीलाई यो अधिकार थिएन ।

मल्ल जस्तै हिजोआज विभिन्न कार्यालयमा काम विशेषले टाढाटाढाबाट सेवा लिन आएका सर्वसाधारण कार्यालय प्रमुख नहुँदा रित्तो हात फर्कने गरेका छन् ।

कार्यालय प्रमुखहरु मात्र होइन बिदामा घर गएका मुगु जिल्लाका २४ गाविसमध्ये पिना, रारा, कालै, धैनकोट, भिई, नार्थपु, जिमा, डोल्फु, माग्री, किम्री, सेरी, खमाले, गम्था र श्रीकोट गाविसका सचिवहरु पनि कार्यस्थलमा नफर्कंदा ती गाविसबाट सम्पादन हुने काम पनि प्रभावित भएका छन् । मुख्य गरी नागरिकता सिफारिस, जनताले पाउने विभिन्न अनुदानका रकम, पहिलो चौमासिकमा हुनुपर्ने काम हुन सकिरहेका छैनन् ।

नागरिक समाज मुगुका अध्यक्ष ज्ञानेन्द्र शाही भन्नुहुन्छ– “विगत वर्षहरुमा एयरपोर्ट कच्ची थियो सडक सञ्चालन थिएन जिल्ला बाहिरका कर्मचारी समयमा नै आउन कठिन थियो तर यो वर्ष सडक सञ्चालनमा छ । रारा एअरपोर्ट कालोपत्रे भई दैनिक ३, ४ उडान भइराखेका छन् अझै कार्यालयमा कर्मचारी नआउनु भनेको लापर्बाही र पदीय दायित्व बोध नहुनु नै हो ।”

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी फूलपातीको अघिल्लो दिन कार्यालय प्रमुखहरुले जिल्ला छोडेको र कार्यालय प्रमुखहरुको नियमित बैठकमा दसैँलगत्तै कार्यालयमा पुग्न र कुनै कारणबस जिल्लामा आउन नसक्ने भए लिखित रुपमा प्रशासन कार्यालयलाई जानकारी गराउन हुन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको बताउनुहुन्छ ।

कार्यालयमा बिदा सकिएको साता दिनभन्दा बढी भइसक्दा पनि उपस्थित नहुने कर्मचारीलाई स्पष्टीकरण सोधिने चित्त बुझ्दो जवाफ नआएमा सम्बन्धित कार्यालयका माथिल्लो निकायमा कारबाहीका लागि पत्र पठाइने प्रजिअ रेग्मीले बताउनुभयो । जिल्लामा सुरक्षा निकायसहित ३४ सरकारी कार्यालय रहेका छन् । रासस