काठमाडौं, ३० भदौ । संविधानसभाबाट नयाँ संविधान पारित भएपछि संयुक्त लोकतान्त्रिक मोर्चाले कडा संघर्षको चेतावनी दिएको छ ।
बुधबार साँझ राजधानीमा बसेको मोर्चाको बैठकले नयाँ संविधान घोषणा गर्ने दिन तराई मधेसका जिल्लाहरुमा ब्ल्याक आउट गर्ने चेतावनी दिएको हो । असोज तीन गतेका दिन तराई र मधेसका जिल्लाहरुमा ब्ल्याक आउट गर्ने निर्णय गरेको सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभयो । ‘सरकार र प्रमुख दलहरुले असोज तीन गते नयाँ संविधान जारी गर्ने दिन दीपावली गर्ने भनेका छन्’, सुमनले भन्नुभयो, ‘त्यस दिन हामीले तराई मधेसका जिल्लाहरुमा ब्ल्याक आउट गर्ने तथा आन्दालनलाई झन् शसक्त बनाउने निर्णय गरेका छौं ।’
मधेसी मोर्चाले आमहड्ताल प्रभावकारी रुपमा अगाडि बढेको ठहर गर्दै अमहड्ताललगायतका विरोधका कार्यक्रमलाई यथावत राख्ने निर्णय गरेको महासचिव सुमनले बताउनुभयो । उहाँले संविधान निर्माणका क्रममा मधेसीका कुरा सम्बोधन नगरिएकाले बाध्य भएर आन्दोलनलाई निरन्तरता दिनुपरेको उल्लेख गर्नुभयो ।
मधेसी मोर्चाले चार गते मधेसका जिल्लाहरुका गाउँगाउँमा संविधान जलाउने र जनप्रदर्शनको कार्यक्रम राखेको छ । पाँच गते भने मधेसी मोर्चाले समीक्षा बैठक गरेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने सुमनले उल्लेख गर्नुभयो ।
सरकार र प्रमुख तीन दलले आफूहरुको मागलाई सम्बोधन गर्ने विषयमा ध्यान नदिएको जनाएको मधेसी मोर्चाले सरकारी पक्षको विरोध गरेको छ । आजको बैठकले गरेका निर्णयलाई भोलि बिहीबार बिहान पुनः बस्ने अर्को बैठकले अन्तिम निर्णय गरेर सार्वजनिक गर्नेछ । त्यसका लागि बिहीबार बिहान पुनः बैठक बस्ने सुमनले बताउनुभयो ।













प्रतिक्रिया