
काठमाडौं, २९ भदौ । संविधानको परिमार्जित विधेयकका धारा संविधानसभाले धमाधम प्रक्रियामार्फत पारित गर्न थालेपछि आन्दोलनरत समूह र दलहरू अन्यौलमा परेका छन् ।
जति नै अबरोध भए पनि प्रमुख तीन दल कांग्रेस, एमाले र एकीकृत माओवादीले नयाँ संविधान जारी गर्ने अडानसहित प्रक्रियामा गएपछि आन्दोलनरत दलहरू रनभुल्लमा परेका हुन् ।
तराईमा विगत एक महिनादेखि बन्द तथा हड्तालको कार्यक्रम घोषणा गरेर आन्दोलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पनि के गर्ने भन्ने विषयमा अन्यौलमा परेको छ । मधेसी मोर्चाले आफ्ना कार्यक्रमलाई तानेर अगाडि बढाइ रहेको छ ।
सद्भावना पार्टीका महासचिव मनीष सुमनले मधेसी मोर्चाका नेताहरूले आन्दोलनको नयाँ योजना बनाइ रहेको बताउनुभयो । ‘मोर्चाका नेताहरू छिट्टै बसेर थप योजना सार्वजनिक गर्नु हुनेछ’, उहाँले भन्नुभयो, ‘आन्दोलनभन्दा अर्को विकल्प छैन ।’
मधेसी मोर्चाका शीर्ष नेताहरू उपेन्द्र यादव, महन्त ठाकुर र महेन्द्र राय यादव राजधानीमा हुनुहुन्छ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमात्रै तराई मधेसका जिल्लामा नेतृत्व गर्दै आउनुभएको छ । आन्दोलन सुरु भएपछि महतो राजधानी आउनुभएको छैन ।
आन्दोलन जारी राखे पनि अब के गर्ने भन्ने विषयमा मधेसी मोर्चाका शीर्ष नेताहरू आफै अन्यौलमा छन् । संविधान निर्माणको प्रक्रिया अगाडि बढेपछि मधेसी मोर्चाका शीर्ष नेताहरूको औपचारिक बैठक बस्न सकेको छैन ।












प्रतिक्रिया