काठमाडौँ, २८ भदौ । ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि सदस्यबाट प्राप्त संशोधनलाई संविधानसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने र पारित गरी विधेयकको अङ्ग बनाउने प्रक्रिया जारी रहेको छ ।
यसअघि आइतबारको बैठकले धारा १, २ र ३ लाई पास गरेको थियो । आजको पहिलो बैठकले धारा नम्बर ५ देखि २४ सम्मका प्रावधान पारित भएका छन् ।
पारित भएको धारा ५ मा ‘सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वाधीनता, स्वतन्त्रता, एकता, नेपालीको हक एवम् स्वाभिमानको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषयहरू हुने’ उल्लेख छ । सो व्यवस्थामाथि दर्ता गरिएका विभिन्न संशोधन अस्वीकृत भएका छन् ।
सो धारामा श्याम श्रेष्ठ, विश्वेन्द्र पासवान र चीनकाजी श्रेष्ठले संशोधन पेस गर्नुभएको थियो । चीनकाजी श्रेष्ठले दर्ता गरेको ‘स्वाभिमानको रक्षा, नेपालीको हक तथा’ भन्ने शब्दको सट्टा ‘स्वाभिमान, नेपालीको हकहितको रक्षा’ भन्ने शब्दसहितको संयुक्त संशोधन पारित भएको थियो ।
सबै मातृभाषा राष्ट्रभाषा
पारित धारा ६ मा ‘नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा हुन्’ भन्ने व्यवस्था छ । यस धारामा लक्ष्मण राजवंशी, कुमार खड्का, जयदेव जोशी, अइन्द्रसुन्दर नेम्वाङले संशोधन पेस गर्नुभएको थियो ।
धारा ७ मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने, नेपाली भाषाको अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्ने’ व्यवस्था बैठकबाट पारित भएको छ । सो धारामा १६ संशोधन परेकामा ९ फिर्ता र आठ संशोधन अस्वीकृत भए ।
राष्ट्रिय झन्डा पारित
राष्ट्रिय झन्डासम्बन्धी धारा ८ मा ‘सिम्रिक रङ्गको भुइँ र गाढा नीलो रङ्गको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको झन्डा नेपालको राष्ट्रिय झन्डा हो” भन्ने व्यवस्था पारित भएको छ । सो धारामा चार संशोधन परेकामा एक फिर्ता भए भने रामकुमार राई, शिवलाल थापा, यशोदाकुमारी लामाले पेस गर्नुभएका संशोधन अस्वीकृत भए ।
राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय जनावर गाई नै
विधेयकको धारा ९ मा रहेको ‘राष्ट्रिय गानको अनुसूची, नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पक्षी डाँफे हुने’ व्यवस्था पनि बैठकबाट पारित भयो । सो धारामा १९ संशोधन परेकामा एक फिर्ता भयो भने अन्य प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा बहुमतबाट अस्वीकृत भयो ।
विधेयकको भाग–२ अन्तर्गत धारा १० मा रहेको ‘नागरिकताबाट वञ्चित नगरिने’ सम्बन्धी व्यवस्थामा दुईवटा संशोधन प्राप्त भएकामा दुवै अस्वीकृत भई विधेयकमा रहेको ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन’ लगायतका प्रावधान पारित भएका छन् ।
धारा ११ मा ‘नेपालमा स्थायी बसोबास भएको देहाय बमोजिमको व्यक्ति यस संविधान बमोजिम नेपालको नागरिक ठहर्ने’ व्यवस्था पनि पारित भयो । सो धारामा १४ संशोधन परेकामा रेखा शर्माले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो भने बाँकी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा बहुमतबाट अस्वीकृत भयो ।
धारा १२ को ‘वंशीय आधार तथा लैङ्गिक पहिचानसहितको नागरिकता’ सम्बन्धी व्यवस्थामा एक संशोधन प्रस्ताव परेकामा उक्त संशोधन पनि बहुमतबाट अस्वीकृत भयो ।
‘नागरिकताको प्राप्ति, पुनःप्राप्ति र समाप्ति’ को धारा १३ मा कुनै संशोधन परेका थिएनन् । धारा १४ को ‘गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने’ व्यवस्था पनि पारित भएको छ ।
धारा १५ मा तीनवटा संशोधन परेकामा ती संशोधन अस्वीकृत भए । धारा १६ को ‘सम्मानपूर्वक बाँच्न पाउने हक’ पनि पारित भयो । सो धारामा ‘कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानुन बनाइने छैन’ उल्लेख छ ।
धारा–१७ को ‘स्वतन्त्रताको हक’ को व्यवस्था पारित भयो । सो धारामा तीन संशोधन परे पनि बहुमतबाट अस्वीकृत भयो । धारा १८ को ‘समानताको हक’ पारित भएको छ । धारा १९ मा रहेको ‘सञ्चारको हक’ पनि पारित भएको छ । सो धारामा तीन संशोधन परेकामा एक फिर्ता र दुई अस्वीकृत भए । पारित व्यवस्थामा ‘विद्युतीय प्रकाशन, प्रसारण तथा छापालगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृश्य सामग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिबन्ध लगाइने छैन । तर नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा सङ्घीय एकाइबीचको सु–सम्बन्ध वा विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्ने, राज्यद्रोह, गाली बेइज्जती वा अदालतको अवहेलना हुने वा अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार, नैतिकताको प्रतिकूल कार्य गर्ने, श्रमप्रति अवहेलना गर्ने र जातीय छुवाछूत एवं लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन’ उल्लेख छ ।
धारा २० को ‘न्याय सम्बन्धी हक’ र धारा २१ को ‘अपराध पीडितको हक’ पनि पारित भएका छन् । यस्तै धारा २२ को ‘यातना विरुद्धको हक’ र धारा २३ को ‘निवारक नजरबन्द विरुद्धको हक’ पनि पारित भएका छन् । धारा २२ र २३ मा कुनै पनि संशोधन नपरेकाले विधेयकको अङ्ग बनेका छन् । धारा २४ को छुवाछुत तथा भेदभावविरुद्धको हक पारित भएको छ । यसमा श्याम श्रेष्ठ र विश्वेन्द्र पासवानले गर्दा गरेको संशोधन अस्वीकृत भएको छ । रासस












प्रतिक्रिया