काठमाडौं, २७ भदौ । एमालेका अध्यक्ष एवम् सभासद केपी ओलीले हिंसाका आधारमा आफ्ना अधिकार संविधान नबनाई समेट्न दवाव दिन खोज्नु उचित नरहेको बताउनुभयो ।
संविधानसभाको आजको बैठकमा संविधानको विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै उहाँले कमिकमजोरी र त्रुटि भए सच्याउन सकिने बताउनुभयो । उहाँले संविधानसभा छाडेर बाहिर गएका दलहरूलाई फिर्ता हुन आग्रह गर्नुभयो । ‘विलम्ब नगरी सबैले अपनत्व लिएर संविधान जारी गरौँ’, उहाँले भन्नुभयो, ‘आफ्ना कुरा आफैले भनेका नहुन सक्दछ । यहाँ धेरै पार्टी छन् । अरुका कुरा सुनेर अगाडि बढ्नु पर्दछ ।’
‘आन्दोलनका नाममा राष्ट्र विखण्डनका कुरा गर्ने, जनतामा साम्प्रदायिकता मच्चाउने, जुलुसमा पेट्रोल बोकेर जाने, प्रहरीमा खन्याउने, प्रहरीमाथि आक्रमण गर्ने, प्रहरी चौकी जलाउने, निहत्था प्रहरीलाई हत्या गर्ने, यस्ता खालका कुरा उचित होइन’, उहाँले भन्नुभयो, ‘यस्ता विषयलाई आन्दोलनकारीले ध्यान दिनुपर्छ ।’ उहाँले तराई मधेसका नाममा कुरा गरेको हुन सक्ने भन्दै ओलीले आन्दोलनको नारा र माग हुन सक्ने बताउनुभयो । उहाँले यस्ता दुस्प्रयासहरूलाई नेपाली जनताले नमान्ने बताउनुभयो ।
यस्तो भएन भने विखण्डन हुन्छ भन्ने नेताहरूका अभिव्यक्ति आइरहेको बताउनुभएका अध्यक्ष ओलीले नेपालले आफ्नो भौगोलिक अखण्डतालाई तलमाथि पर्न नदिने बताउनुभयो । मधेसी जनता सबै त्यस्ता खालका कार्य गर्ने पक्षमा नरहेको बताउनुभएका ओलीले राष्ट्रियताप्रति मधेसी जनता आफै सचेत रहेको उल्लेख गर्नुभयो ।
संविधानसभाभन्दा बाहिर गएका दलहरूलाई आफ्ना माग राख्न आग्रह गर्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रक्रियालाई रोकेर संविधान निर्माणलाई रोक्न हुँदैन । वार्तालाई अगाडि बढाएर जाऔँ । मागलाई पछि पनि पूरा गर्न सकिन्छ ।’
कतिपय कुरा छुटेको र नपुगेको बताउनुभएका अध्यक्ष ओलीले यसमा थपघट गन सकिने बतानुभयो । संविधान जारी भइसके पछि पनि माग र अधिकार समेट्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतिपय कुराहरू कसैलाई चित्त नबुझेको हुन सक्छ । मेरा पनि चित्त बुझेका छैनन् ।’
अधिकार र असहमतिका कुरालाई सिरानी हालर बस्न नहुने अध्यक्ष ओलीले आग्रह गर्नुभयो । उहाँले पछि पनि अधिकारलाई समेट्न सकिने उल्लेख गर्नुभयो । उहाँले अन्तरिम संविधानमा व्यवस्था भएका हकअधिकारलाई कायम राखेर नयाँ संविधानमा पनि अधिकार राखिने उल्लेख गर्नुभयो ।












प्रतिक्रिया