काठमाडौं, २७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सभासद् कमल थापाले हिन्दू राज्यको माग गर्दै खुलामञ्चमा आमरण अनशनमा बसेकाको स्वास्थ्य स्थिति अत्यन्तै कमजोर बनेकोतर्फ संविधानसभा र सरकारको ध्यानाकर्षण गराउनुभयो ।
संविधानसभाको बैठकमा बोल्दै उहाँले भन्नुभयो – “हाम्रो उपस्थिति सरकारको कामको साक्षीका रुपमा बस्ने मात्र नभई संविधानमार्फत जनतालाई अधिकार सम्पन्न बनाउने हो र त्यस प्रयोजनका लागि संशोधन प्रस्ताव दर्ता गरेका हौँ । तर चाहेर वा नचाहेर मुलुक विषम अवस्थामा आइपुगेको छ ।”
मुलुकको सार्वभौमसत्ता, अखण्डतामाथि प्रश्न चिह्न खडा भएको भन्दै उहाँले बाह्य शक्तिको प्रायोजनमा धर्म निरपेक्षता, गणतन्त्रजस्ता एजेन्डा ल्याइएको र नेपालका दललाई प्रयोग गरिएको आरोप लगाउनुभयो ।
तराई मधेसमा जनजाति, आदिवासी तथा अल्पसङ्ख्यक समुदायले उठाएको जायज मागलाई सम्बोधन गर्नुपर्ने र उनीहरुलाई संविधान निर्माणमा सहभागी गराउनैपर्ने सभासद् थापाको भनाइ थियो ।
सभासद् थापाले भन्नुभयो – “विभिन्न कोणबाट उठेका र उठाइएका जायज मागलाई सम्बोधन गरिएन भने एकले अर्कोलाई आरोप लगाएर बस्न सक्ने अवस्था छैन । पार्टीको अस्तित्व भन्दा राज्यको अस्तित्व प्रमुख विषय हो ।”
राप्रपा नेपाल आफ्नो एजेन्डा पारित नभए पनि प्रजातान्त्रिक मूल्य र मान्यताअनुसार अगाडि बढिरहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । उहाँले आफ्नो फरक मत संविधानसभामा दर्ता पनि गराउनुभयो । संविधानसभाको बैठक जारी छ । रासस












प्रतिक्रिया