
काठमाडौं, २६ भदौ । थरुहट, थारुवान संयुक्त संघर्ष समितिले सरकारसँग वार्ताका लागि पहल गर्न तीन सदस्सीय टोली गठन गरेको छ ।
काठमाडौंमा आज (शनिबार) बसेको थारु संघर्ष समितिको बैठकले थारु कल्याणकारिणी सभाका पूर्व अध्यक्ष राजकुमार लेखी, एमाओवादीका सभासद अमनलाल मोदी र थारुहट पार्टीका नेता मीनराज थारु रहेको समिति गठन गरेको हो ।
थारु नेतृ रुक्मिणी चौधरीले सरकारलाई वार्ताका लागि दवाव दिन र वार्ताको वातारण बनाउन तीन सदस्सीय कार्य दल बनाएको बताउनुभयो । ‘वार्ताको वातावरण बनाउन र सरकारलाई दवाव दिन तीन सदस्सीय कार्यदल गठन गरेका छौँ’, उहाँले भन्नुभयो, ‘तीन सदस्सीय कार्यदलले वार्ताको वातावरण तयार पारेपछि थारु कल्याणकारिणीका अध्यक्षको नेतृत्वमा नेताहरु गएर वार्ता गर्ने छौँ ।’
सभाका पूर्व अध्यक्ष लेखीले पनि आफूहरुले प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताहरुलाई भेट गरेर वार्ता सम्वादका लागि दवाव दिने बताउनुभयो । उहाँले आफूहरुको तीन सदस्सीय कार्यदलले वार्ताको वातावरण तयार पारेपछि वार्ता गरी थारुहरुका माग पूरा गराउने बताउनुभयो ।
विगत एक महिनादेखि तराईमा आन्दोलनरत थारुहरु सरकारसँग वार्ताका माध्यमबाट समस्या समाधानका लागि तयार भए पनि सरकार र कांग्रेस, एमाले र एमाओवादीले चासो नदेखाएपछि रुष्ट बनेका छन् । थारु आन्दोलनकारीहरु वार्ताका लागि दवाव दिन आफै जुटेका छन् ।












प्रतिक्रिया