२१ कार्तिक २०८३, शनिबार

संविधान निर्माणको प्रक्रिया आइतबारसम्म रोक्ने निर्णय, असन्तुष्ट पक्षलाई वार्तामा आउन आव्हान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्बिर : रोशन सापकोटा, रासस
तस्बिर : रोशन सापकोटा, रासस

काठमाडौं, २५ भदौ । आन्दोलनरत दल र समूहहरूलाई वार्तामा ल्याउने प्रयास स्वरुप प्रमुख तीन राजनीतिक दलले संविधान निर्माणको प्रक्रियालाई आइतबारसम्म स्थगित गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरूको बैठकले संविधानको विधेयकलाई प्रक्रियामा लैजाने निर्णयलाई आइतबार एघार बजेसम्मका लागि स्थगित निर्णय गरेका हुन् । आइतबार एघार बजेसम्मको समयभित्र तीन दलले आन्दोलनरत मधेसी र थारु तथा अन्य समूहहरूसँग वार्ता गर्नेछन् ।

बैठकपछि पत्रकारसँग कुरागर्दै कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानसभा छाडेर गएकाहरूलाई सहभागी गराउन आइतबारसम्मका लागि संविधानको प्रक्रियालाई स्थगित गर्ने तीन दलबीच सर्वसम्मत निर्णय भएको बताउनुभयो ।

‘आज र भोलि दुई दिनसम्म वार्ता गर्नेछौँ’, उहाँले भन्नुभयो, ‘वार्तापछि आइतबारबाट प्रक्रियामा जानेछौँ ।’ उहाँले आइतबार शीर्ष नेताहरूले बोलेर संविधान निर्माणको प्रक्रिया अघि बढाइने बताउनुभयो ।

एमालेका उपाध्यक्ष भीम रावलले आज र भोलि दुई दिनसम्म आन्दोलनरत पक्षसँग खुला रुपमा वार्ता गरिने बताउनुभयो ।

‘संविधान निर्माणमा हामी पछि हटेका छैनौँ’, उहाँले भन्नुभयो, ‘आइतबार एघार बजेपछि संविधान निर्माणको प्रक्रिया अघि बढ्छ ।’ उहाँले वार्ताका लागि आन्दोलनरत पक्षलाई आह्वान गरिएको भन्दै वार्ताका पूर्वसर्त स्वीकार्य नहुने बताउनुभयो ।

एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानसभाबाट बाहिरिएका र विरोधका स्वरहरूलाई सम्बोधन गर्ने विषयमा तीन दलबीच सर्वसम्म सहमति भएको बताउनुभयो ।

‘वार्ताका लागि पर्सी आइतबारसम्म संविधानसभाको प्रक्रिया स्थगित गर्ने सर्वसम्म निर्णय भएको छ’, उहाँले भन्नुभयो, ‘धेरै शक्तिको स्वामित्व रहने गरेर संविधान निर्माण गरिनुपर्छ ।’

निर्वाचन क्षेत्र निर्धारणमा देखिएको समस्या समाधान गर्ने बताउनुभएका एमाओवादी उपाध्यक्ष श्रेष्ठले सामाजिक न्यायको धारामा समावेशी शब्द राख्ने सहमति भएको बताउनुभयो ।

आन्दोलनरत दलहरूका माग सम्बोधन र वार्ताका लागि तीन दलका शीर्ष नेताहरूले संविधान निर्माणको प्रक्रियालाई पर्सी आइतबार एघार बजेसम्म स्थगित गर्ने निर्णय गरेका छन् । यसले गर्दा वार्ताका वातारण बन्नेछ ।

संविधानको विधेयकका धारालाई आजबाट प्रक्रियामा लगेर पारित गर्दै जाने तयारी थियो । अब सो प्रक्रिया आइतबार एघार बजेसम्म स्थगित भएको छ ।