इलाम, २२ भदौ । दुग्ध विकास आयोजना विराटनगरले विभिन्न समस्या देखाउँदै मिल्क होलिडे गर्न थालेपछि किसान मर्कामा परेका छन् ।
उत्पादित दुग्ध उत्पादक वस्तुले उचित बजार नपाउँदा आयोजनाले घोषितरुपमै भदौ १७ गतेदेखि हप्ताको बिहीबार शुक्रबार र शनिबारका दिन मिल्क होलिडे गर्न थालेपछि किसान मर्कामा परेका हुन् ।
आयोजानाले दूध किसानलाई पत्राचार नै गरेर होलिडे गर्न थालेको इलामको बिव्ल्याँटे दूध चिस्यान केन्द्रका प्रमुख गोपालबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार विभिन्न दुग्ध सहकारीमार्फत दैनिकरुपमा चार हजार ५०० लिटर दूध सङ्कलन हुँदै आएको थियो तर उत्पादित दूधका परिवारले बजार नपाउँदा अहिले केही समयका लागि सातामा तीन दिन होलिडे गर्नुपरेको हो ।
विशेष गरी भूकम्पका कारण यहाँ उत्पादित दूधजन्य वस्तुले बजार पाउन छोडेपछि होलिडे गर्नुपरेको उहाँले बताउनुभयो । यसअघि लगातारको बन्द, हडतालका कारणसमेत दूध ढुवानीमा समस्या आएको आयोजनाका प्रमुख खड्काको भनाइ छ ।
हाल इलामको बरवोटेस्थित बिव्याँटे चिस्यान केन्द्र, कोल्बोङको कुटिडाँडा, लक्ष्मीपुर, फिक्कल, तीनघरे, पुवाखोला, शान्तिडाँडा तथा पाँचथरको देउराली गरी जम्मा मेची अञ्चलमा सात वटा चिस्यान केन्द्रबाट दैनिक ४० हजारदेखि ४५ हजार लिटरसम्म दूध विराटनगर आयोजनाले लिँदै आएको छ ।
मुख्य दूध उत्पादन हुने सिजनमा मिल्क होलिडे हुन थालेपछि इलामका कृषक मारमा परेका छन् । बर्खायाममा हरियो घाँस र पोसिलो आहारा खुवाएसँगै दूध वृद्धि भए पनि दूध नै बिक्री नहुँदा कृषक मार परिरहेको बरवोटका किसान ख्यामराज आचार्यको भनाइ छ ।
उत्पादित वस्तु बिक्री नहुँदा अहिले विराटनगरस्थित डिडिसीको गोदाममा दूध पाउडर, चिजलगायतका वस्तु ९०० मेट्रिक टन तथा घिउ ६०० मेट्रिक टनको हाराहारीमा थन्किएको छ । रासस















प्रतिक्रिया