९ कार्तिक २०८३, सोमबार

कैलालीमा अखण्ड सुदूरपश्चिम र थरूहट पक्षबीच झडप, दुई प्रहरीसहित १० घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kailali

– दीपक ओली
धनगढी, ४ भदौ । अखण्ड सुदूरपश्चिम र थरुहट पक्षधरबीच कैलाली तोरैयापुरमा शुक्रबार झडप भएको छ । झडपमा परी दुई प्रहरीसहित दश जना घाइते भएका छन् ।

अखण्ड सुदूरपश्चिम पक्षधरले आव्हान गरेको मोटरसाईकल र्यालीलाई कैलालीको दुर्गौली गाविस तोरैयापुरमा थरुहट पक्षधरले अवरोध गरेपछि झडप हुनपुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । धनगढीबाट मोटरसाइकलमा गएका अखण्ड सुदूरपश्चिम पक्षधरहरुलाई थरुहट पक्षधरले गुलेली तथा ढुंगामुढा प्रहार गरेको जनाइएको छ ।

झडपमा परी प्रहरी जवान खड्क खड्का र एकजना अर्को प्रहरी जवान तथा १० जना अखण्ड सुदूरपश्चिम पक्षधर घाइते भएको प्रहरीको भनाई छ । दिउँसो अढाई बजेदेखि साझ साढे पाँच बजेसम्म भएको झडपलाई नियन्त्रणमा लिन टीकापुर र धनगढीबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको कैलाली प्रहरी प्रमुख एसपी बिक्रमबहादुर चन्दले बताए ।

झडपका क्रममा तोरैयापुरका तीन जना स्थानीयको घरमा तोडफोड गरिएको घटनास्थलका प्रत्यक्षदर्शी तीर्थराज जैशीले बताए । त्यस्तै, मोटरसाईकलमा सवार अखण्ड सुदूरपश्चिम पक्षधरका १० बढी मोटरसाईकलमा आगजनी तथा तोडफोड भएको खबर आएको कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताए ।

गत गते धनगढीमा थरुहट पक्षले गरेको आमसभामा सहभागी हुन आएकाहरुलाई अखण्ड सुदूरपश्चिम पक्षधरले अवरोध पुर्याएका थिए । त्यसैको बदलास्वरुप थरुहट पक्षले अखण्ड सुदूरपश्चिम पक्षको मोटरसाईकल र्यालीलाई अबरोध पुर्याएको बुझिएको छ ।

कैलाली कञ्चनपुरसहितको सिंगो सुदूरपश्चिमको एक प्रदेश र कैलाली कञ्चनपुरलाई विभाजन गरी छुट्टै थरुहट प्रदेश हुनुपर्ने माग गर्दै बिगत दुई सातादेखि यहाँ आन्दोलन हुँदै आएको छ ।

तोरैयापुरमा तनावपूर्ण भएको स्थिती नियन्त्रणमा लिई थप झडप हुन नपाओस् भनेर दुबै पक्षसँग निरन्तर सम्पर्क र छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।