९ कार्तिक २०८३, सोमबार

कूटनीतिक राहदानी दुरुपयोग गर्ने तीन सभासद्लाई तीन महिना जेल सजाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

passportकाठमाडौँ, २६ साउन । विशेष अदालतले संविधानसभाका पूर्वसदस्य शिवपूजन राय यादव, विश्वनाथप्रसाद यादव र गायत्री साहले कूटनीतिक राहदानी दुरुपयोग गरेको ठहर गरी जनही तीन महिना कैद गर्ने फैसला गरेको छ ।

अदालतका सदस्य पवनकुमार शर्मा, प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले पूर्वसभासद्लाई जनही रु १५ हजार जरिवाना गर्ने फैसला पनि गरेको छ ।

पूर्वसभासद यादवद्वय र साहको कूटनीतिक राहदानीमा तस्बिर फेरेर अर्कै व्यक्ति अस्ट्रेलिया गएको भनी दिइएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत साल भदौ २६ गते अदालतमा मुद्दा दायर गरेको थियो ।

पूर्वसभासद् शिवपूजनको राहदानीमा केदारनाथ शर्मा भन्ने व्यक्ति अस्ट्रेलिया गएको आरोप लगाइएको थियो । उक्त राहदानीमा सभासद्को तस्बिर हेरफेर गर्नका लागि देवेन्द्र पौडेल, मनोज कार्की, गोपाल बानियाँ, दिलबहादुर घर्ती र सन्तोषराज उप्रेतीले सहयोग गरेका आरोप लगाइएको थियो ।

साथै पूर्वसभासद् विश्वनाथप्रसाद र साहको राहदानीबाट पृथ्वी छन्त्याल नाम गरेको व्यक्ति अस्ट्रेलिया गएको भन्ने आरोप लगाइएको थियो । सो मुद्दामा अस्ट्रेलिया गएका छन्त्याललाई एक वर्ष छ महिना कैद गरी रु ७५ हजार रुपियाँ जरिवाना गर्ने फैसला भएको छ । रासस