– नरेश केसी
भैरहवा, साउन २६ । नेपाललाई हिन्दू राष्ट्र कायम गराउनकोलागी आफु मर्न पनि तयार भएको स्वामी कमलनयन आचार्यले बताएका छन् ।
स्वामी कमलनयनले ९४ प्रतिशत हिन्दू धर्मालम्बी भएको मुलुकका जनता आज टुहूरो बन्नु परेको जनाउदैं मुलुकलाई हिन्दू राष्ट्र कायम गराउनकोलागी यस्तो अप्रीय निर्णय लिएको बताए ।
धर्म निरपेक्षता खारेज गरौं, हिन्दू राष्ट्र कायम गरौं भन्दै भैरहवामा आयोजित बृहत धर्मसभालाई सम्बोधन गर्दै मुक्तिनाथ धाम पीठाधीस स्वामी कमलनयनले भने “म शिरमा कफन बाधेंर हिन्दू राष्ट्रकोलागी अगाडी बढेको छु । म नरहे केही हुदैंन तर नेपाल हिन्दू राष्ट्र कायम हुनुपर्दछ ।” स्वामी कमलनयनले राजनितीक दलका नेताहरुले ९४ प्रतिशत जनताको अभिमतलाई गलत्याउदैं विदेशीको ईशारामा हिन्दू राष्ट्र नेपाललाई धर्म निरपेक्ष बनाउन थालेको जिकिर गरे ।

हिन्दू धर्मको बचाउंकोलागी मर्न पनि तयार भएको जनाउने स्वामी कमलनयनले धर्म निरपेक्षताले नेपालमा ठूलो विखण्डन ल्याउने समेत बताए । स्वामी आचार्यले मुलुकमा राजनितीक दलका नेताहरुले शहिदहरुलाई धोका दिएको समेत जनाए । उनले भने “हिजो मुलुक धर्म निरपेक्षता हुदैंछ भन्ने थाहा पाएको भए कोही शहिद हुने थिएनन । कोही पनि ०६२/०६३ को आन्दोलनमा सहभागी हुने थिएनन् ।” स्वामी आचार्यले विदेशी एजेन्टले नेपाली नेताहरुलाई खरिद गरेको जनाउदैं मुलुकको संविधानमा सनातन हिन्दू राष्ट्र कायम नभए सम्म आफुहरुको धर्म बचाउं आन्दोलन जारी रहने समेत बताए ।
स्वामी आचार्यले काठमाण्डौंबाट शुरु भएको राष्ट्र रक्षा आन्दोलन देशभरी फैलिने जनाउदैं भगवान बुद्धको जन्मथलो भैरहवाका जनता जागे मुलुकको संविधानमा हिन्दू राष्ट्र मुलुक कायम हुने समेत बताए ।स्थानिय आयोजक भिमराज अधिकारीको संयोजकत्व तथा कृष्ण प्रसाद शर्माको सन्चालनमा सम्पन्न धर्म सभामा पर्रोहाधाम पीठाधीस्वर स्वामी किशोर गौतम, स्वामी विवेकानन्द, स्वामी चैतन्य कृष्ण, शिख गुरु जस्मीन्दर सिंह लगायतको सहभागिता रहेको थियो ।
धर्मसभा अगाडी मंगलबार विहान हजारौं अं अंकित झण्डा बोकेका मोटर साईकलले देवकोटाचौंक, मिलनचौंक, नयासडक बेलहिया, पक्लिहवा, मेनरोड, गल्लामण्डी, एअरपोर्ट, लुम्बिनीरोड, पडसरी हुदैं ठुटीपीपलमा गई पर्रोहाबोलबम धामबाट आएको रथ सहितका हिन्दू र्धर्मका गुरुहरुलाई स्वागत गरेका थिए । हजारौं हिन्दू धर्मालम्बीहरु सहभागी सो रयाली भैरहवामा धर्मसभाको समापन पछि नवलपरासी सदरमुकाम परासीहुदैं त्रिवेणी स्थित गजेन्द्र मोक्षधाम तर्फ गएको हिन्दू धर्म बचाउं आन्दोलनका सदस्य गोपाल भण्डारीले जनाए ।
















प्रतिक्रिया