काठमाडौँ, २० साउन । प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरुबीच नयाँ संविधानका अधिक चासोका विषय आजै टुङ्ग्याउने लक्ष्यका साथ भएको बैठक भोलिसम्म लम्बिएको छ ।
“सीमासहितको प्रदेशको व्यवस्थाका साथ संविधान जारी गर्न प्रमुख चार दल सहमति नजिक पुगेका छन्, केही विषय टुङ्ग्याउन बाँकी रहेकाले भोलि बिहान ९ बजे बस्ने बैठक निष्कर्षमा पुग्नेछ,” मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले बैठकपछि पत्रकारहरुसँग भन्नुभयो । नागरिकता, धर्मलगायत सबै विषय भोलि टुङ्ग्याइने जानकारी पनि उहाँले दिनुभयो ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही विषयमा सहमति कायम भइनसकेकाले समझदारी कायम गरेर भोलि टुङ्ग्याइने जानकारी दिनुभयो ।
एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आज सबै विषयमा गम्भीर ढङ्गले छलफल भएको बताउँदै ती विषयलाई भोलि निष्कर्षमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – “केही विषयमा निष्कर्षमा पुग्न आज भ्याइएन, भोलि निचोडमा पुग्नेमा हामी विश्वस्त छौँ ।”
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिका संयोजक डा बाबुराम भट्टराईले बैठक सकारात्मक ढङ्गले अघि बढेको जानकारी दिँदै पूर्ण निष्कर्षमा पुग्न थप छलफल गर्नुपर्ने भएकाले भोलिसम्मका लागि बैठक लम्ब्याइएको हो भन्नुभयो । रासस













प्रतिक्रिया