काठमाडौं, १९ साउन । विवादास्पद अभिव्यक्तिलाई लिएर चिढिएको प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आफ्ना सभासद अमरेशकुमार सिंहसँग स्पष्टीकरण माग गरेको छ ।
कांग्रेस संसदीय दलका नेता तथा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनपछि मुख्य सचेतक चिनकाजी श्रेष्ठले सिंहसँग स्पष्टीकरण माग गरेका हुन् । स्पष्टीकरणको जवाफ आएपछि थप कारबाही अघि बढाइनेछ ।
स्रोतका अनुसार मुख्य सचेतक श्रेष्ठले सभासद सिंहलाई देश टुक्रन सक्ने भनेर दिएको अभिव्यक्ति र पार्टीका विधान विपरितका गतिविधी गरेका सम्बन्धमा सोधिएको छ । ‘कांग्रेसको विधि र विधान विपरित सभासद अमरेशकुमार सिंहले अभिव्यक्ति दिँदै आउनुभएको छ ।गतिविधि गर्दै आउनुभएको छ’, कांग्रेस उच्च स्रोतले भन्यो, ‘उहाँले राष्ट्रियस्तरका दैनिक पत्रपत्रिकाहरूमा राष्ट्रिय अखण्डतामाथि आँच आउने गरेर अभिव्यक्ति दिनुभएको छ । ती सबै विषयलाई लिएर स्पष्टीकरण सोधेका छौं ।’
त्यसै गरी संविधानको प्रारम्भीक मस्यौदाका लागि सुझाव संकलन गर्न कांग्रेसले सिरहा क्षेत्र नम्बर– ६ मा सभासद सिंहलाई खटाएको थियो । तर सभासद सिंह सुझाव संकलनका लागि गएका थिएनन् । उनको सो कार्यबाट कांग्रेस रिसाएको थियो । त्यस विषयमा पनि सिंहसँग स्पष्टीकरण सोधिएको स्रोतले उल्लेख्य गरेको छ ।
भारत पक्षसँग आफ्नो सम्पर्क र उच्च भेटघाट हुने गरेको खुलमखुला बताउँदै आएका कांग्रेस सभासद सिंहले नेपाल टुक्रन सक्नेभन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । उनी कांग्रेसको नीतिभन्दा बाहिर गएर विपक्षी मोर्चाहरूसँग साँठगाँठ गर्ने, बैठकहरू गर्ने कार्यबाट पनि कांग्रेस खुसी थिएन ।
कांग्रेसको यो प्रारम्भीक कारबाहीबाट सभसाद सिंहलाई राजनीतिमा ठूलो दाग लाग्नेछ । उनले सात दिनभित्र आफ्नो स्पष्टीकरण संसदीय दलको कार्यालयमा मुख्य सचेतकलाई बुझाउनुपर्ने छ ।
कांग्रेसका मुख्य सचेतक श्रेष्ठले अति गोप्यभन्दै स्पष्टीकरणको पत्र सोमबार सभासद सिंहलाई पठाएका हुन् ।












प्रतिक्रिया