काठमाडौं, १५ साउन । नेपाल अहिले संविधान निर्माणको प्रक्रियामा छ । प्रमुख दलहरुले मिलेर संविधानसभाबाट संविधान निर्माण प्रक्रिया अगाडि बढाएसँगै विभिन्न समुदायहरुले आफ्ना हक अधिकार सुनिश्चितताको माग गरिरहेका छन् ।
विभिन्न मागहरु उठिरहेका बेला प्रमुख दलकै केही नेताहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको आवाज उठाएका छन् । प्रमुख दलका नेता डा. बाबुराम भट्टराईदेखि गगन थापासम्मले यो विषयलाई निरन्तर उठाइरहेका छन् । यद्यपी यो विषयमा संविधानसभामा छलफल भइसकेको छैन् । तर बाहिर भने अधिकांश प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमै उभिएका छन् ।
के हो प्रत्यक्ष कार्यकारी निर्वाचित प्रणाली ?
संसदीय व्यवस्थामा केही महिनामा फेरिरहने सरकार र अस्थिर राजनीतिलाई बदल्ने, ढिलो गतिको विकास र भ्रष्ट्राचारको अन्त्य गर्ने काम प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखबाट हुन्छ । त्यसैले बहुसंख्यक युवा र धेरै नेपालीले अस्थिरता, अविकसित र भ्रष्ट्राचारबाट मुक्ति खोज्नकै लागि निर्वाचित प्रमुखकै आवाज उठाएका हुन् ।
संविधानसभाले संकलन गरेका जनताका अधिकांश सुझावमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबाट प्रधानमन्त्री प्रमुखमा चुनिनुपर्ने माग लेखेका छन् । सुझाव संकलन उपसमितिका संयोजक प्रमिला राणाका अनुसार सुझावलाई हेर्न हो भने प्रत्यक्ष कार्यकारी निर्वाचित प्रमुखमा बहुमत देखिएको छ । जसमा प्रधानमन्त्री चुन्ने सुझाव बढी छन् ।
खासमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भनेको राष्ट्र प्रमुख जनताबाट सिधै चुनिने व्यवस्था हो । जस्तै, जनताबाट चुनिएको प्रधानमन्त्री/राष्ट्रपति चार देखि पाँच वर्ष पदमा रहन्छ । सितिमिति कसैले हटाउन सक्दैन । यो प्रणाली नै प्रत्यक्ष कार्यकारी निर्वाचित प्रणाली हो ।
प्रधानमन्त्रीमा बाबुराम, गगन र गोकर्णमध्ये कस्लाई चुन्ने ?
संसदीय प्रणालीको अन्त्य गर्ने र प्रत्यक्ष निर्वाचित प्रणालीको अभ्यास गर्ने आवाज संविधानसभा भित्र र बाहिर उठिरहँदा प्रधानमन्त्री कस्लाई चुन्ने चर्चा पनि राजनीतिक बजारमा सुरु भएको छ । पछिल्लो समय कांग्रेसबाट युवा नेता गगन थापा, एमालेका युवा नेता गोकर्ण विष्ट र एमाओवादीबाट बरिष्ठ नेता डा. बाबुराम भट्टराई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको आवाज उठाइरहेका छन् । अझ बाबुरामले सबै दलका नेता, समाजका बुद्धिजिवी लगायतका सबै यो विषयमा छलफल गरिरहेका छन् । प्रमुख दलका तिनै नेताले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा बोलेपनि प्रधानमन्त्री कस्लाई बनाउने भन्ने समिक्षा हुन जरुरी छ । मानिसको व्यक्तित्व, क्षमता र भीजन हेरेर अबको नयाँ प्रधानमन्त्री चुन्नुपर्ने जिम्मेवारी नेपाली जनताको काँधमा छ ।
चिनौं को नेता कस्तो ? प्रधानमन्त्री बनाउने जिम्मा तपाईको :
बाबुराम भट्टराई : एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता हुन् डा. बाबुराम भट्टराई । १० वर्षे जनयुद्ध लडेर सत्तामा पुगेका व्यक्ति पनि हुन् उनी । अहिले पार्टीमा विद्रोह गरिरहेका बाबुराम बौद्धिक व्यक्तित्व पनि हुन् । उनले एक कार्यकाल सरकारको नेतृत्व समेत सम्हालिसकेका छन् । तर उनी त्यो बेला केही सफल त केही असफल भए । विकास निर्माणका काम सफल भएका बाबुराम संविधान निर्माणको काममा भने असफल भए । उनको विकास मोडलकै कारण आज काठमाडौंका सडक एकदमै खुला र चौडा भएका छन्, भने अर्काेतर्फ उनले नै २०६४ सालको संविधानसभालाई अन्तिम समयमा विघटन गरेका कारण ४ वर्षमा बन्ने संविधान अहिलेसम्म बनेनन् । संविधान निर्माणपछि देश विकास रफ्तारमा दौडिने भएकाले विकासमा भीजन भएका बाबुरामलाई प्रधानमन्त्री बनाउनु उचित हुन्थ्यो कि ?
गगन थापा : कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता हुन् गगन थापा । विशेषगरी युवाको हक अधिकारमा बोल्ने उनी अहिले सम्म सरकारको मन्त्री भएका छैनन् । विद्यार्थी जीवनबाटै राजनीतिमा प्रवेश गरेका थापा काठमाडौं क्षेत्र नम्बर ४ का सभाषद हुन् । विद्यार्थी जीवनकालमा युवाहरुको सपना पूरा गर्ने सम्वाहकका रुपमा देखिएका उनलाई यसपटक प्रधानमन्त्री बनाउन चाहने धेरै छन् । संविधान निर्माणको क्रम चलिरहँदा संविधानसभामा उनको महत्वपूर्ण योगदान छ । उनका यी काम र व्यक्तित्वबाट उनी एक सफल राजनीतिज्ञ मानिन्छ । त्यसकारण युवाहरुको सपना पूरा गर्ने जिम्मेवारीसहित गगनलाई प्रधानमन्त्री चुन्ने की ?
गोकर्ण विष्ट : नेकपा एमालेका सचिव तथा युवा नेता हुन् गोकर्ण विष्ट । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेका उनी २०३५/०३६ सालको विद्यार्थी आन्दोलनसँगै राजनीतिमा प्रवेश गरेका हुन् । तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवासङ्घ (हाल युवासङ्घ)को दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । झलनाथ खनालको पालाको सरकारमा उर्जामन्त्री बनको विष्टले आफ्नो कार्यकालमा ऊर्जासङ्कट कम गर्न विशेष काम गरेर चर्चित बनेका थिए । उनी पनि विकास निर्माणका काममा दख्खल राख्ने नेता हुन् । भर्खरै गएको भूकम्पमा दिनरात पीडितहरुको घर बनाउन खटिएका उनले स्वयमंसेवकहरुको नेतृत्व समेत लिएका थिए । जून निकै सफल भयो । जनताको सेवाका लागि घरबार त्याग्न सक्ने नेता पनि हुन् विष्ट । तसर्थ अब लागू हुने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली उनलाई प्रधानमन्त्री बनाउँदा उपयुक्त होला की ?













प्रतिक्रिया