काठमाडौं, १४ साउन । अविरल बर्षासंगै कास्कीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षले जनाएअनुसार विहिबार कास्की लुम्ले–६ र भदौरे तामागी–५ डुडाफाँट, बाग्लुङको रायोडाँडा र म्याग्दीको मुना–४ मा छुट्टाछुट्टै पहिरोमा परेर २३ जनाको शव फेला परेको छ भने १७ जना घाइते भएको अवस्थामा फेला परेका छन् ।
पहिरोमा परेर लुम्ले–६ मा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा १० बर्षीय अर्जुन गुरुङ, १० बर्षीया सविता पौडेल, ८४ बर्षीय बसन्ती विक, ३२ बर्षीया चिजा विक, १४ बर्षीया सम्झना विक, १० बर्षीया सलिना विक, ९ बर्षीय सुनिल विक, २६ बर्षीय मंजु सुनार, नाम खुल्न नसकेको उनको ३ महिनाको छोरी, ३२ बर्षीय सुन कुमारी जिसी., १० बर्षीय सुगम जिसी, ५ बर्षीय संगम जिसी, ५६ बर्षीय छिरिङ राई, उनको नाम, खुल्न नसकेको श्रीमती रहेका छन् । एकजनाको सनाखत हुन सकेको छैन ।
घाइते लुम्ले–६ बस्ने २० बर्षीया रिता देवकोटा, ८ महिनाको बालक नितेस देवकोटा र १८ बर्षीया जुना सुनारलाई उपचारको लागि मणिपाल अस्पतालमा लगिएको छ ।
यसैगरी भदौरे तामागी–५ डुडाफाँटमा गएको पहिरोमा परेर ६५ बर्षीय टिकाराम विक., ५५ बर्षीया राम कुमारी विक, ३१ बर्षीया गौरी पराजुली, ७ बर्षीय करण पराजुली र ६५ बर्षीया नन्दकली पराजुलीको मृत्यु भएको छ ।
पहिरोमा २७ बर्षीया शान्ति पराजुली, २८ बर्षीया बिमला विक., ६ बर्षीया सविना पराजुली, २९ बर्षीय बिनोद विक, ८ बर्षीया नम्रता पराजुली, ३० बर्षीया निरु पराजुली, ५० बर्षीया अंजनी पराजुली, ६२ बर्षीया तुलसी पराजुली, ६ बर्षीया खुशी विक, २८ बर्षीय कमल सुनार, २० बर्षीय अन्तिम सुनार, २१ बर्षीया सुस्मा सुनार, ३ बर्षीया सोनाम सुनार र ३२ बर्षीया माया पराजुली घाइते भएका छन् । घाइतेहरुको पश्चिम क्षेत्रीय अस्पताल र मणिपाल अस्पतालमा उपचार भई रहेको छ ।
पहिरोबाट भएको क्षतिको एकिन विवरण खुल्न सकेको छैन । उक्त स्थानहरुमा प्रहरी र सेनाले उद्धार कार्य गरीरहेको छ । यसैगरी बाग्लुङ राय डाँडा–९ आप्रेमा विहिबार विहान बर्षासंगै आएको पहिरोले १ वटा घर बगाउनुका साथै १ वटा घर पुरिदा ८३ बर्षीय कर्णधर थापाको मृत्यु भएको छ । उक्त स्थानमा चौकी कुस्मिशेराबाट प्रहरी टोली खटिई उद्धार कार्य गरीरहेको छ ।
यसैगरी म्याग्दी मुना–४ मा पहिरोमा परेर मेलिना पुन र सनाखत हुन नसकेका अर्का एक जना गरी २ जनाको मृत्यु भएको छ । उक्त स्थानमा प्रहरीले उद्धार कार्य गरिरहेको छ ।












प्रतिक्रिया