
– नरेश केसी
कावासोती १२ साउन । नवलपरासीको जयश्री पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग १९ घण्टादेखी ठप्प रहेको छ ।
गैंडाकोट नगरपालिका वडा नम्बर ९ स्तिथ जयश्री पुल सोमबार सांझ ६ बजे भाँचिएको थियो । ओभरलोडका कारण सो पुल भाँचिएको प्राविधिकहरुले जनाएका छन् । पुल भाँचिएकै कारण पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ–बुटवल सडक खण्डमा सवार यात्रुहरु अलपत्र परेका छन् । पश्चिम महाकालीदेखी नारायणगढ हुँदै पूर्व जाने तथा काठमाडौं जाने हजारौं यात्रुहरु अहिले अलपत्र अवस्थामा रहेका छन् ।

सो सडक खण्डमा पश्चिमतर्फ नवलपरासीको थुम्सीदेखी जयश्री सम्म र जयश्रीदेखी गैडाकोट सम्म गरि करिब ८ किलोमिटर सडकखण्ड जाम रहेको छ । पुल भाँचिएर एल आकारको भएको छ भने दुबै तर्फबाट सबै किसिमका सवारीसाधन आवतजावतमा प्रतिबन्ध लगाइएको छ । सो सडकखण्डमा नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको टोलीले यात्रुहरुलाई पैदल ओहोरदोहर गर्नमा सहयोग गरिरहेका छन् । पूर्वबाट पश्चिम जाने सवारी साधनहरु गैंडाकोटमा रोकिएको छ भने पश्चिमबाट पूर्वको लागि आएका सवारी साधनहरु गैंडाकोटको थुम्सी, कावासोती, चोरमारा, बर्दघाट सुनवलमा रोकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
सवारी साधनलाई डाइभर्सन गराएर लैजाने तत्काल उपाय नभएता पनि नजिकैबाट प्रयास भईरहेको नवलपरासी जिल्लाको सडक समेत हेर्ने सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।

ओभर लोड भएका ट्रिपर र ट्रकले एकैसाथ बाटो पार गर्न खोज्ने क्रममा पुल भाँचिएको स्थानीयबासीले बताएका छन् । पुलको दायाँ बायाँ रहेका फलामका पाताहरु भाँचिएर करिब पाँच फिट तल धसिएको छ ।
तत्काल बैकल्पिक बाटो (डाइभर्सन) को लागि पश्चिमाञ्चल सडक डिभिजन कार्यालय बुटवलले नजिकैबाट खोलामा ह्युमपाईप राखेर डाइभर्सन बनाईरहेको डिभिजन प्रमुख इन्जिनियर दीपककुमार भट्टराईले जनाएका छन् । डाइभर्सनको लागि एउटा डोजर र अन्य सडक निर्माण औजार समेत प्रयोग भईरहेको छ ।
यता सडक नखुल्दा रातभरी यात्रुहरु सडकमै रात बिताउन बाध्य भएका छन् । नजिकमा प्रायाप्त होटल समेत नहुँदा यात्रुहरुले चिया नास्ता समेत राम्रोसंग पाउन नसकेको बताएका छन् । अर्कोतर्फ केही गाडी सन्चालकले बाध्यताको फाइदा उठाउदै यात्रुहरुलाई पाल्पा पोखराको बाटो हुँदै लैजाने भन्दै चर्को भाडा समेत असुल्ने गरेको बुझिएको छ ।



















प्रतिक्रिया