काठमाडौँ, ११ साउन । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानको प्रारम्भिक मस्यौदामाथि जनताबाट आएका राय सुझावभन्दा बाहिर संविधानसभा नजाने बताउनुभएको छ ।
विभिन्न मागसहितको राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको ज्ञापनपत्र बुझ्दै आज उहाँले जनताले मस्यौदामाथि दिएका सुझावलाई संविधानसभाले गम्भीरतापूर्वक लिने बताउनुभयो ।
सभाअध्यक्ष नेम्वाङले नेपाल सबै जात, भाषा, धर्म, संस्कृति र वर्गको साझा फूलबारी भएको चर्चा गर्दै सबै धर्म, भाषा, संस्कृतिमा विश्वास गर्नेको भावनालाई समेटेर मुलुक अघि बढ्नुपर्ने बताउनुभयो ।
“हाम्रो संविधानले सबैको भावनालाई समेट्नुपर्छ, यसमा विवादै छैन, त्यसै बमोजिम संविधानसभाबाट काम हुन्छ” – उहाँले भन्नुभयो ।
सभाध्यक्ष नेम्वाङले नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले जनताबाट आएका राय सुझावलाई एकीकृत गरेर आजै प्रतिवेदन आफूलाई बुझाउने जानकारी दिँदै उक्त प्रतिवेदन संविधानसभामा पेस गरेर संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा पठाउने र समितिले रायसुझावमा टेकेर परिमार्जनका लागि आधार तय गर्ने बताउनुभयो ।












प्रतिक्रिया