२० कार्तिक २०८३, शुक्रबार

हामी जनताका नोकर हौं : प्रधानमन्त्री कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil_koiralaकाठमाडौँ, ११ साउन । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणका क्रममा लोकतान्त्रिक मूल्य र मान्यतामा कुनै सम्झौता नहुने बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगले गएको छ महिनामा सम्पादन गरेका प्रमुख कार्यसहितको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक गर्दै प्रधानमन्त्री कोइरालाले लोकतन्त्रको छातामुनि सबै आइसकेकाले लोकतान्त्रिक मूल्य र मान्यताका विषयमा कुनै सम्झौता नहुने दोहो¥याउनुभएको हो ।

उहाँले भन्नुभयो, “संविधान निर्माणका क्रममा लोकतन्त्रलाई आधार बनाएर सबै विचार र सुझावलाई समेटेर अघि बढिने छ । लोकतन्त्रमा सरकार जनताको नोकर हो भन्ने मान्यतालाई स्थापित गरिने छ ।”

प्रधानमन्त्री कोइरालाले प्रतिबद्धताका साथ लाग्ने व्यक्ति असफल नहुने बताउँदै जनताको सूचनाको हक स्थापित गर्न आयोगलाई निर्धक्क भई अघि बढ्न आग्रह गर्नुभयो । उहाँले सूचना दिन बाध्य नभएका राष्ट्रिय सुरक्षालगायत पाँच विषयबाहेकमा जनतालाई सूचना दिइनुपर्ने र सरकारका राम्रा पक्ष तथा कमजोरीबारे पनि थाहा दिइनुपर्ने बताउनुभयो ।

उहाँले नेपाली जस्तोसुकै विपद्मा पनि धैर्यसाथ परिस्थितिलाई सम्हाल्न सक्ने भएको भनी विदेशीले समेत नेपालीलाई प्रशंसा गरेको सन्दर्भ उल्लेख गर्दै ध्वस्त हुन्छ भन्नेजस्ता हल्लाका बीच जटिल परिस्थितिलाई सामना गरिएको स्मरण गराउनुभयो ।

कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले राष्ट्रिय सुरक्षा र व्यक्तिगत गोपनीयताबाहेक अन्य विषयमा सूचना माग्ने, पाउने र प्रवाह गर्ने अधिकारका लागि सरकारको तर्फबाट आयोगलाई निरन्तर सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

सरकारका सचिवसमेत सहभागी उक्त कार्यक्रममा उहाँले भन्नुभयो, “लोकतन्त्रलाई संरक्षण गर्ने क्रममा पारदर्शी भई सूचना दिनुस् तर राष्ट्रिय स्वार्थको गोपनीयता कायम राख्नुस् ।”