– विश्वास खड्काथोकी
काठमाडौं, ७ साउन । उनका भाइ उज्जनकुमार श्रेष्ठको १७ बर्षअघि हत्या भयो, भाइको हत्यारालाई कारबाही गर्न उजुरी दिएकै कारण दाजु गणेशकुमारलाई पनि निर्मम तरिकाबाट हत्या गरियो । आफ्नै आँखा अगाडि बाबुको हत्या देख्न नसक्दा गणेशकुमारीकी छोरी रचनाले पनि आत्महत्या गरिन् । हत्यामा संलग्नलाई संघर्ष गरिरहेकी सावित्री तिनै दाजुभाइको आत्मशान्तिका लागि समाजसेवामा जुटेकी छिन्, दाइ र भाइको नाममा उनले गणेश–उज्ज्जन स्मृति प्रतिष्ठान खोलेकी छिन् उनी अर्थात सावित्री श्रेष्ठ ।
भूकम्प गएको दिन टाढिँदै गर्दा राहत वितरण पनि सेलाउँदै गएको छ । भूकम्पको बेला चाउचाउ र विस्कुट लिएर गाउँ पुग्नेहरु आजकाल देखिन छाडेका छन् । तर, अझै पनि भूकम्प पीडितको घाउमा मल्हम लगाउनमै ब्यस्त छिन्, सावित्री ।
अहिले पनि सावित्री ‘शहिद गणेश–उज्जन स्मृति प्रतिष्ठान’ मार्फत गाउँगाउँमा जस्ता, चामल, झुल, ब्लाङ्केट, नुन, तेलजस्ता सामग्री लिएर पुग्नमै व्यस्त छिन् ।
असारको अन्तिम हप्ता रामेछापको सैपु– १, ३ र ४ मा ५७ बोरा चामल लिएर पुगिन् । र, एक सय १४ घर परिवारलाई वितरण गरीन् । सैपुका प्रत्येक घर परिवारले १५ केजी चामल, डेढ पाउ जिरा, एक केजी नुन् र, आधा लिटर तेल पाए । त्यहीँबाट चिसापानी पनि पुगिन् । अनि ८४ घर परिवारलाई त्यसरीनै चामल, जिरा, नुन, तेल बितरण गरिन् । उनले गत असार पाँच गते सैपु गाविसकै ३९ घर परिवारलाई एक–एक बण्डल जस्ता वितरण गरेकी थिइन् । त्यसको केही समय पहिला ओखलढुंगा पकलीमा पनि ४६ बण्डल जस्ता वितरण गरेकी थिइन् ।
त्यस लगत्तै रामेछापको भीरपमानी गाविस पुगिन् । र, ५५ बण्डल जस्ता वितरण गरिन् । श्रेष्ठले दैनिक नेपालसँग भनिन्, ‘एकल महिला, असाय असक्त र आर्थिक अवस्था कमजोर रहेका घर परिवारलाई जस्ता प्रदान ग¥यौँ ।’
त्यहाँ जस्तापाता वितरण गरिरहँदा सावित्रीले भीरपानीको बिपतबारे थाहा पाइन । उनलाई भीरपानी पुगेर भूकम्प पीडितको पीडामा खुशी थप्ने रहर जाग्यो । अनि, भिरपानीतिर लागिन् । सावित्रीले भीरपानीमा पुगेर ५५ बण्डल जस्तापाता प्रदान गरिन् । जति धेरै सहयोग गर्न सक्यो त्यतिनै आनन्दको अनुभुति गर्छिन्, सावित्रीले ।
भूकम्पपछि सावित्री कहिले विरामी हुँदाहुँदै भूकम्प पीडितमा मुस्कान छर्न पुगिन्, कहिले जस्ता लिएर ओत दिन पुगिन् । उनको अभियानलाई जापान र अमेरिकामा रहेका आफन्तहरुले हात थापे । जसको कारण उनको अभियानलाई केही सहज बनायो ।
जापानका सञ्जीव श्रेष्ठले ५० हजार, देवराज नेपालले ५० हजार र अमेरिकामा रहेकी अनुपमा केसीले ५० हजार, बिबश लामाले ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका थिए । बाँकी रकम आफैले संकलन गरी भूकम्प प्रभावित क्षेत्रमा पुगिन्, सावित्री । धापासीस्थित सद्भाव बस्तीका आश्रय गौतम लगायतले जस्ता–जस्ता खरिदका लागि तीन लाख रुपैयाँभन्दा बढी सहयोग गरेका थिए । सावित्रीले रोयल हिमाल टे«किङ नेपालको पनि शुरुदेखि नै साथ पाइन् ।
राहत बोकेर ललितपुरमा
सावित्री श्रेष्ठले आफ्नो जन्मथलो ओखलढुंगा र रामेछापमा मात्रै राहत बाँडिनन्, गत असार २८ गते राहत बोकेर ललितपुरतिर लागिन् । जहाँ उनका बृद्ध बाबु रामेश्वर पनि साथमै पुगेका थिए ।
भुखेल १, ३ र ४ का एक सय १६ घर परिवारले केही भए पनि राहतको अनुभव गर्न पाए । त्यहाँ प्रत्येक घरलाई एक–एक वटा झुल, बलाङ्केट प्रदान गरिन् अनि ३० घरलाई तीस केजी चामल ।
‘ललितपुर सुगम ठाउँ भन्ने भ्रम छ’, श्रेष्ठले भनिन्, ‘त्यहाँ पुगेपछि थाहा भयो, ललितपुरमा पनि अति दुर्गम ठाउँ रहेछ भन्ने ।’ उक्त ठाउँमा उनी तीसबोरा चामल लिएर पुगेका थिइन् ।
भुखेलको लागि अमेरिकामा रहेको नेपाली समुदायले झुल र बलाङ्केट उपलब्ध गराएका थिए । उक्त अभियानको नेतृत्व बिबश लामाले गरेका थिए ।

















प्रतिक्रिया