पोखरा, ७ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएका उपयुक्त सुझावलाई समेटेर नयाँ संविधान जारी गरिने बताउनुभएको छ ।
एमाले कास्कीको प्रतिनिधि परिषदको प्रथम बैठकलाई आज यहाँ सम्बोधन गर्दै नेता ओलीले जनताबाट आएका सुझावलाई संविधानमा समावेश गरिँदैन कि भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले नयाँ संविधान कुनै दलविशेषका नेतालाई नभई देश र जनतालाई चाहिएको हो भन्नुभयो । ‘संविधान जनताको हो, जनताकै सुझाव अनुसार बन्छ, नेता हुँ भन्दैमा धेरै नबोल्नुहोस्’ ओलीले प्रमुख दलका अडान राख्ने नेतालाई चेतावनीको भाषामा भन्नुभयो ।
संविधान जारी भएपछि संविधानसभा भने कायम नरहने जिकिर गर्दै उहाँले त्यसपछि काम संविधानमा उल्लेख भएबमोजिमका नियम र विधिअनुसार हुँदै जाने बताउनुभयो ।
उहाँले भन्नुभयो–“अहिले नै प्रदेशको नामाङ्कन र सीमाङ्कन टुङ्ग्याउनतिर लाग्ने हो भने फेरि पनि संविधान नबन्न सक्छ, त्यसैले यी विवादको टुङ्गो सङ्घीय आयोगले लगाउने छ र संविधानमा समावेश गरिन्छ । ” संविधान जारी भएपपछि नयाँ सरकार गठन हुने र सोको ध्यान भूकम्पबाट क्षतविक्षत भएको मुलुुकको पुनःनिर्माणमा केन्द्रित हुने अध्यक्ष ओलीको भनाइ थियो ।












प्रतिक्रिया