काठमाडौं, ७ साउन । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले मकवानपुरमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र सभासद् गणेश थापामाथि भएको आक्रमण घटनाबारे यथार्थ जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।
व्यवस्थापिका-संसद्को बैठकमा सभामुख नेम्वाङले संविधानको मस्यौदामा सुझाव संकलनका क्रममा शान्तिपूर्ण विरोध कार्यक्रममा मंगलबार हेटौंडामा राप्रपा नेपालका अध्यक्ष कमल थापा र सभासद गणेश थापामाथि भएको आक्रमण घटनाबारे यथार्थ जानकारी गराउन गृहमन्त्री बामदेव गौतमलाई निर्देशन दिएका हुन् ।
संविधानको मस्यौदामा हिन्दु राष्ट्र कायम हुनुपर्ने माग राख्दै शान्तिपूर्ण विरोध कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापामाथि हेटौडामा ढुंगा प्रहार भएको थियो भने, सभासद् गणेश थापामाथि हेटौंमै खुकुरी प्रहार भएको थियो ।
संसदको आजको बैठकमा साभासद् तथा राप्रपा नेपालका प्रमुख सचेतक दीलनाथ गिरीले घटनाको निष्पक्ष छानबिन गरी दोषिमाथि कारवाही नभएसम्म सदन चल्न नदिने चेतावनी दिएपछि सभामुख नेम्वाङले गृहमन्त्री गौतमलाई अर्काे बैठकमा यथार्थ जानकारी गराउन कडा निर्देशन दिएको संसद सचिवालयले जनाएको छ ।
सांसद गिरीले मस्यौदामाथि सुझाव लिन मकवानपुरको हेटौँडामा जाँदा यही साउन ५ गते आफ्ना पार्टी अध्यक्ष कमल थापा, सांसद गणेश थापा र पार्टीका मकवानपुर जिल्ला अध्यक्ष नवराज विष्टमाथि भएको साङ्घातिक आक्रमणप्रति आपत्ति समेत जनाउनुभयो ।
संविधान निर्माणको कार्य रफ्तारमा अगाडि बढिरहेका बेला राप्रपा नेपालले संसद चल्न नदिने भएपछि त्यसमा बाधा उत्पन्न हुने विचार गरी सभामुख नेम्वाङले यस्तो निर्देशन दिएका हुन् ।












प्रतिक्रिया