काठमाडौँ, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३७औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
पुष्पलालको नेतृत्वमा २००६ साल वैशाखमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । उहाँले नेपालको इतिहासलाई ऐतिहासिक–भौतिकवादी दृष्टिकोणले अध्ययन–अन्वेषण गर्न र यसलाई वैज्ञानिक ढङ्गले परिभाषित गर्न पनि उल्लेखनीय योगदान दिनुभएकाले नेकपा (एमाले) लगायतका विभिन्न पार्टीले उहाँको विचारलाई प्रेरणाका रुपमा लिँदै आएका छन् ।
स्मृति दिवसका अवसरमा आज पुष्पलाल स्मृतिपार्क चम्पादेवीमा विशेष कार्यक्रम तय गरिएको छ भने अनेरास्ववियुको आयोजनामा विचारगोष्ठी पनि हुँदैछ । दिवसका अवसरमा एक वक्तव्य प्रकाशित गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलालप्रति उच्च सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु र पार्टी केन्द्रीय कमिटीको तर्फबाट शीघ्रातीशीघ्र संविधान जारी गरेर सङ्क्रमणकालको अन्त्य गर्ने, पार्टीलाई मुलुकको अग्रणी राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने एवम् नेपाललाई स्थायित्व, शान्ति, समृद्धि र सबल राष्ट्रिय एकताको दिशामा अगाडि बढाउने सङ्कल्प गर्नुभएको छ ।
नेपालको सन्दर्भमा कम्युनिस्ट पार्टीलाई किसान आधारित बनाउनुपर्ने, पार्टी निर्माणका लागि सिद्धान्त–सङ्गठन–सङ्घर्ष–तीनवटै क्षेत्रमा दक्षता हासिल गर्नुपर्ने, पार्टीमा नीतिको प्रधानता स्थापित गर्नुपर्ने एवम् कम्युनिस्ट कार्यकर्ताहरूले सर्वहारावर्गीय दृष्टिकोण र जीवनशैली अवलम्बन गर्नुपर्नेजस्ता पुष्पलालका सन्देश र शिक्षाहरू पार्टी निर्माणका सन्दर्भमा आज पनि उत्तिकै सान्दर्भिक र महत्वपूर्ण रहेको एमालेको ठम्याइ छ ।
कम्युनिस्ट पार्टीले आज आन्दोलनका गौरवपूर्ण ६६ वर्ष व्यतित गरेको र पार्टी नेपाली लोकतान्त्रिक आन्दोलनको अग्रणी, नेपाली राजनीतिको प्रमुख शक्ति र आमजनताबीच सर्वाधिक लोकप्रिय पार्टीका रूपमा स्थापित भएकाले जनताको बहुदलीय जनवादजस्तो सही मार्गदर्शक सिद्धान्त, लोकप्रिय जनाधार, राष्ट्रव्यापी सङ्गठनात्मक सञ्जाल, व्यापक अन्तर्राष्ट्रिय सम्पर्क–सम्बन्धहरू व्यवस्थित गर्दै पार्टी नै मुलुकलाई सही नेतृत्व प्र्रदान गर्न सक्ने पार्टी हो भन्ने कुरा समकालीन राजनीतिक घटनाक्रमहरूले पुष्टि गर्दै ल्याएको उहाँको भनाइ छ ।
ओलीले भन्नुभएको छ – “पुष्पलालले मार्गदर्शन गर्नुभएको बाटोमा अगाडि बढ्दै आज हामीले सामन्तवादविरोधी क्रान्तिलाई उत्कर्षमा पु¥याएका छौँ । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।”
आठ वर्ष लामो आरोह–अवरोह र व्यवधानहरूलाई पार गर्दै मुलुक संविधानसभाबाट संविधान निर्माण गर्ने निर्णायक बिन्दुमा आइपुगेको उल्लेख गर्दै उहाँले आगामी केही साताभित्रै मुलुकले नयाँ संविधान पाउने र यस संविधानले नेपाली जनताको करिब एक शताब्दी लामो सङ्घर्षका उपलब्धिहरुलाई संस्थागत गर्ने र मुलुकलाई राजनीतिक स्थायित्व, दिगो शान्ति, सामाजिक–आर्थिक रूपान्तरण र समृद्धिको दिशामा अगाडि बढाउने आधार प्रदान गर्ने बताउनु भएको छ ।” रासस












प्रतिक्रिया